विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको विभत्स हत्या प्रकरणमा मुख्य आरोपी पदमबहादुर अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। बिहीबार मोरङ जिल्ला अदालतले मुख्य अभियुक्त अधिकारीलाई मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
न्यायाधीश टंकबहादुर महतको इजलासले थुनछेक बहसपछि अभियुक्तलाई थुनामा राखेरै मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।
गत असोज २१ गते अचानक बेपत्ता भएकी १३ वर्षीया अंशुको खोजीमा सिङ्गो लेटाङ जुटेको थियो । तर, कात्तिक ७ गते स्थानीय जङ्गलमा फेला परेको उनको शवले सबैलाई स्तब्ध बनायो । टाउको र शरीर अलग पारिएको विभत्स अवस्थामा शव फेला परेपछि स्थानीय बासिन्दा आक्रोशित र त्रसित बनेका थिए ।
घटनाको प्रकृति हेरेर प्रहरीले यसलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान अघि बढाएको थियो । ‘जस्टिस फर अंशु गौतम’ नाम दिइएको विशेष अपरेसनमार्फत प्रहरीले मंसिर १८ गते पदमबहादुरलाई पक्राउ गर्न सफल भएको थियो । अंशुका बुबा नवीन गौतमले दिएको किटानी जाहेरी र संकलित प्रमाणहरूको आधारमा अदालतले पदमबहादुरलाई थुनामा पठाएको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।