विराटनगर । मुलुक आर्थिक संकट र जनसरोकारका मुद्दामा अल्झिरहेका बेला बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भने ‘महँगो सौख’ प्रदर्शन गर्दै हेलिकप्टर चढेर वनभोज (पिकनिक) खान सिरहा पुगेका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा सिरहा कांग्रेसका सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोजमा सहभागी हुन मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चार्टर गरेर हेटौंडाबाट सिरहा ओर्लिएका हुन् ।
धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासको विकट क्षेत्रमा आयोजना गरिएको उक्त वनभोजमा मुख्यमन्त्री बानियाँको राजकीय शैली देख्दा स्थानीय समेत चकित परेका थिए । सोही कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय पनि सहभागी थिए । तर, छिमेकी प्रदेशका मुख्यमन्त्री र मन्त्री सरकारी गाडी चढेर आइपुग्दा बागमतीका मुख्यमन्त्री बानियाँले भने आकाशमार्ग रोज्दै हेलिकप्टरको प्रयोग गरे ।
हेलिकप्टर चार्टरको खर्च र औचित्यमाथि प्रश्न उठ्ने देखेपछि मुख्यमन्त्रीको सचिवालयले यसको बचाउ गरेको छ । मुख्यमन्त्रीका स्वकीय सचिव मिलन पुडासैनीले वनभोजमा जाँदा लागेको खर्च मुख्यमन्त्रीको व्यक्तिगत भएको दाबी गरे ।
तर, सार्वजनिक पदमा बसेको व्यक्तिले एक दिनको रमाइलोका लागि लाखौँ खर्च गरेर हेलिकप्टर चार्टर गर्नुलाई धेरैले ‘तडकभडक’ र शक्ति प्रदर्शनको रूपमा लिएका छन् । वनभोजमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।