लोड हुँदैछ...

मेनु

नक्कली नागरिकता बनाएर बिक्री गर्ने एक व्यक्ति पक्राउ

नक्कली नागरिकता बनाएर बिक्री गर्ने एक व्यक्ति पक्राउ

विर्तामोड । लामो समयदेखि नक्कली नागरिकता बनाएर बिक्री गरिरहेको गिरोह सक्रिय रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले विशेष निगरानी बढाएपछि एक जनालाई नक्कली नागरिकतासहित नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार बिर्तामोड नगरपालिका–३ स्थित एक मिठाई पसलबाट शिवसताक्षी नगरपालिका–११ का २३ वर्षीय पप्पु ठाकुरलाई बिहीबार नक्कली नागरिकतासहित पक्राउ गरिएको हो। प्रशासनले नक्कली नागरिकता बेचबिखन भइरहेको सूचनाका आधारमा विशेष सुराकी परिचालन गरेको थियो।

सुराकीमार्फत नागरिकता किन्ने बाहनामा बोलाइएका ठाकुर नक्कली नागरिकता लिएर आएपछि नियन्त्रणमा लिइएको प्रसाईंले जानकारी दिए। पूर्वी नेपालमा नक्कली नागरिकता बनाउने ठूलो गिरोह सक्रिय रहेको र त्यसले नागरिकता बनाएर बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नियन्त्रणमा लिइएका व्यक्तिसँग राजगढ–५, सप्तरीको ठेगाना उल्लेख गरिएको एक नक्कली नागरिकतासमेत फेला परेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र अनुसन्धानका क्रममा गिरोहको नेटवर्कबारे थप विवरण खुल्दै जाने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।