विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको यातायात प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन ‘सुरक्षित चालक अभियान’ सुरु गरेको छ । यस अभियान अन्तर्गत ट्राफिक प्रहरीले सिटी सफारी चालकहरूका लागि अनिवार्य सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सँगै निश्चित ‘ड्रेसकोड’ को व्यवस्था गरेको हो ।
बिहीबारदेखि सुरु भएको यस सचेतना अभियानमा ट्राफिक प्रहरीले लाइसेन्स भएका चालकहरूलाई मात्र विशेष ड्रेसकोड फ्लोरेसेन्ट ज्याकेट वितरण गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले अब विराटनगरमा लाइसेन्स भएका सिटी धनीहरूले अनिवार्य रूपमा ड्रेसकोड लगाएर मात्र सवारी चलाउनुपर्ने जानकारी दिए ।
अभियानबारे बोल्दै प्रहरी निरीक्षक न्यौपानेले भने, ‘अहिले धेरै मानिसमा सिटी सफारीको मात्र गल्ती हुन्छ भन्ने गलतफहमी छ । यो भ्रमलाई चिर्न र सिटी सफारीलाई व्यवस्थित बनाउन हामी र तपाईं चालक मिलेर नमुना बन्नुपर्छ । यो राम्रो सुरुवात हो, यसलाई सबैले पालना गरौँ ।’
विराटनगरमा सिटी सफारीको संख्या अत्यधिक हुँदा र अदक्ष चालकहरूले चलाउँदा सवारी आवागमन अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ । ‘विराटनगरमा जसले पायो उसैले सिटी कुदाउने गरेको पाइयो । यसलाई व्यवस्थित गर्न र दुर्घटना न्यूनीकरण गर्न हामीले ड्रेसकोड अभियान ल्याएका हौँ,’ न्यौपानेले भने, ‘अब यात्रुहरूलाई पनि ड्रेसकोड लगाएका र लाइसेन्स भएका सिटीमा मात्र चढ्न हामी आग्रह गर्दछौँ ।’
अहिले लाइसेन्स नभएका र सवारी नियमबारे ज्ञान नभएका व्यक्तिहरूले सिटी सफारी चलाउँदा बढी दुर्घटना हुने गरेको छ । कतिपय अवस्थामा लागूऔषध सेवन गरेर समेत सफारी चलाउने गरेको पाइएकाले त्यस्ता गतिविधि रोक्न कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
तथ्याङ्क अनुसार विराटनगरमा हाल १२ हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा छन् । तर, तीमध्ये करिब २ देखि ३ हजार चालकसँग मात्र आधिकारिक सवारी चालक अनुमतिपत्र रहेको अनुमान गरिएको छ ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।