विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा बुधबार मध्यरातमा चलेको गोलीले ४५ वर्षीय विजय साहको ज्यान मात्र लिएन, राज्यको सुरक्षा संयन्त्रको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाइदिएको छ ।
भारतबाट ६–७ बोरा चिनी र केही थान घरायसी सामान लिएर सिटी सफारीमा आउँदै गरेका निहत्था चालकको छातीमै गोली प्रहार गर्नुपर्ने अवस्था थियो कि थिएन भन्ने विषय अहिले बहस र तनावको केन्द्र बनेको छ ।
घटनापछि बिहीबार दिनभरजसो सुनसरीको लौकही क्षेत्र रणमैदान बन्यो । स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आधा दर्जनभन्दा बढी सेल अश्रुग्यास र हवाई फायर समेत गर्नुपरेको छ ।
‘मुठभेड’ कि एकतर्फी हत्या ?
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपाने यसलाई ‘दोहोरो भिडन्त’ दाबी गर्छन् । तस्करको समूहले सुरुमा सुरक्षाकर्मीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा साहको मृत्यु भएको उनको जिकिर छ । ‘सामान चोरी पैठारी गरेर ल्याउँदै गरेको समूहलाई रोक्न खोज्दा रोकिएन, अगाडि भागेको गाडीबाट फायर भएपछि सशस्त्रले आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको हो,’ डीआईजी न्यौपानेले भने ।
तर, सशस्त्रको यो दाबीलाई घटनास्थलको वस्तुस्थिति र स्थानीयको बयानले चुनौती दिएको छ । मृतकका आफन्त र प्रत्यक्षदर्शीका अनुसार त्यहाँ कुनै दोहोरो भिडन्त भएको थिएन । लेनदेनको विषयलाई लिएर सशस्त्र प्रहरी र साहबीच विवाद भएपछि सिधै गोली प्रहार गरिएको उनीहरूको दाबी छ ।
‘काकासँग कुनै हतियार थिएन, उनी त सिटी सफारीमा चिनी लिएर आउँदै थिए,’ मृतकका भतिज उमेश साहले प्रश्न गरे, ‘यदि रोक्न नै खोजिएको थियो भने टायरमा वा खुट्टामा गोली हान्न सकिन्थ्यो, सिधै छातीमा दुई–दुई वटा गोली किन दागियो रु यो मुठभेड होइन, नियतवश गरिएको हत्या हो ।’

अनुसन्धानको घेरामा सशस्त्र
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले घटनास्थलबाट दुई राउन्ड गोलीका खोका फेला परेको पुष्टि गरे । तर, ती खोका कुन हतियारका हुन् र दोहोरो भिडन्त भएको थियो कि थिएन भन्नेमा नेपाल प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन । प्रारम्भिक अनुसन्धानमा सशस्त्रको दाबीलाई पुष्टि गर्ने बलियो आधार फेला नपरेको प्रहरी स्रोतले जनाएको छ ।

मृतक साहको घर घटनास्थलबाट मात्र दुई सय मिटरको दूरीमा छ । आफ्नै घर अगाडि भएको यो घटनाले स्थानीयलाई थप आक्रोशित बनाएको छ । ‘पैसा मागेको थियो, मागेजति नपाएपछि गोली हानियो,’ प्रदर्शनमा उत्रिएका एक स्थानीयले भने ।
आक्रोशित स्थानीयले मृतकको शव र उनले चलाएको सिटी सफारीलाई राजमार्गमै राखेर प्रदर्शन गरेका छन् । बिहानैदेखि ठप्प रहेको यातायात र बजारका कारण जनजीवन अस्तव्यस्त बनेको छ । आन्दोलनकारीले गोली प्रहार गर्ने सशस्त्र प्रहरीलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
विजय साहको मृत्युले उनको परिवार बिचल्लीमा परेको छ । सिटी सफारी चलाएर परिवार पाल्दै आएका उनका दुई छोरा र एक छोरी छन्, जसमध्ये एक छोरा अपाङ्गता भएका व्यक्ति हुन् ।
स्थिति थप तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय वार्ताको प्रयास भइरहेको छ । ‘हामी वार्ता र संवादमार्फत निकास निकाल्ने प्रयासमा छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भने । यद्यपि, पीडित पक्षले भने दोषीलाई कारबाहीको ग्यारेन्टी नभएसम्म शव नउठाउने अडान राखेका छन् ।

तस्बिरहरु : दिपेन्द्र साह


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।