लोड हुँदैछ...

मेनु

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सिटी सफारी चालकको मृत्यु

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सिटी सफारी चालकको मृत्यु

विराटनगर । सुनसरीमा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ)को गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो।

घटना बुधबार राति करिब १:१० बजे भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार मृतक साह सोही वडाका स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार साह आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरी भारतबाट नेपालतर्फ ल्याइरहेका थिए। सवारी साधन चलाइरहेको अवस्थामै उनीमाथि गोली प्रहार भएको बताइएको छ। मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो।

साहको मृत्युपछि स्थानीयले शव उठाउन नदिँदै घटनास्थलमै प्रदर्शन गरिरहेका छन्। स्थानीयले भने लेनदेनको विवादका कारण गोली प्रहार गरिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

यता सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन्। ‘चोरीको सामान रहेको सवारी रोक्न खोज्दा तर्फबाट गोली प्रहार भयो, एपीएफले जवाफी फायरिङ गरेको हो,’ उनले भने।

हाल घटनास्थलमा प्रहरी परिचालित छ र कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।