लोड हुँदैछ...

मेनु

जेन–जी आन्दोलनले परिवर्तनको नयाँ अध्याय संकेत गर्‍यो, सच्चिएर अघि बढ्छौँ : प्रचण्ड

जेन–जी आन्दोलनले परिवर्तनको नयाँ अध्याय संकेत गर्‍यो, सच्चिएर अघि बढ्छौँ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले देश र जनताप्रतिको जिम्मेवारी बोध गर्दै अब जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा उभिनुपर्ने बताएका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।

शुभकामना सन्देशमा संयोजक प्रचण्डले बिदा भएको वर्ष सन् २०२५ लाई राजनीतिक परिवर्तनको नयाँ संकेतका रूपमा चित्रण गरेका छन् । विशेषगरी युवा पुस्ताको ‘जेन–जी’आन्दोलनले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकतालाई प्रष्ट पारेको उनको भनाइ छ ।

प्रचण्डले संविधान निर्माणका क्रममा आफ्नो दलले फरक मतका रूपमा अघि सारेका एजेन्डाहरूको औचित्य अहिलेको बदलिँदो परिस्थिति र युवा आन्दोलनले पुष्टि गरेको दाबी गरे । उनले भने ‘संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण हामीले राखेका एजेन्डाहरू कति सही थिए भन्ने कुरा अहिलेको तरल राजनीतिक परिस्थितिले थप प्रष्ट पारेको छ ।’

आफ्नो सन्देशमा उनले पार्टीभित्रको कमजोरीलाई स्वीकार गर्दै आत्मसमीक्षा गर्ने प्रतिज्ञा समेत गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै छ’ उनले भने, ‘यथास्थितिमा रमाउने सोच र परिवर्तन चाहने शक्तिबिचको सङ्घर्ष अझै जारी छ । यस्तो अवस्थामा हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ ।’

वर्तमान राजनीतिक संकटको सकारात्मक निकासका लागि अग्रगामी शक्तिहरूबिच आपसी समझदारी र राष्ट्रिय एकता आजको प्रमुख आवश्यकता भएको प्रचण्डले उल्लेख गरे । राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उनले बताए ।

नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र सङ्कल्प लिएर आउने विश्वास व्यक्त गर्दै उनले यो वर्ष सम्पूर्ण नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति र समृद्धिको वर्ष बनोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।