लोड हुँदैछ...

मेनु

सीमा नाकाबाट एक वर्षमा १०८ महिलाको उद्धार, ५१ जना मोरङकै

सीमा नाकाबाट एक वर्षमा १०८ महिलाको उद्धार, ५१ जना मोरङकै

विराटनगर । विभिन्न प्रलोभनमा पारेर भारत लैजान लागिएका १०८ जना महिला तथा बालिकाहरूलाई माइती नेपाल मोरङले एक वर्षको अवधिमा सीमा नाकाबाट उद्धार गरेको छ। माइती नेपाल मोरङले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार विराटनगरस्थित सीमा नाकाबाट उनीहरूको उद्धार गरिएको हो।

माइती नेपाल मोरङका प्रमुख विनोद पोखरेलका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी १८ वर्ष माथिका महिलाहरू रहेका छन्। तथ्याङ्क अनुसार १८ वर्ष माथिका ७६ जना र १८ वर्ष मुनिका ३२ जना बालिकाहरूलाई उद्धार गरिएको पोखरेलले जानकारी दिए।

उद्धार गरिएकामध्ये सबैभन्दा बढी मोरङ जिल्लाकै रहेका छन्। कुल उद्धारमध्ये ५१ जना मोरङका छन् भने त्यसमध्ये १५ जना विराटनगर महानगरपालिका भित्रकै रहेका छन्। यसैगरी, माइती नेपालले भारतका विभिन्न स्थानबाट दुई जनाको उद्धार गरी परिवारको जिम्मा लगाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार गत एक वर्षमा माइती नेपालमा ४७ वटा हराएको निवेदन दर्ता भएका छन् भने ५४ जना घरेलु हिंसा पीडित महिलाहरू न्यायका लागि पुगेका छन्। मोरङसहित तीन जिल्लालाई कार्यक्षेत्र बनाएको माइती नेपालले सीमावर्ती क्षेत्रमा बिहान ६ बजेदेखि राती १०ः ३० बजेसम्म निगरानी गर्ने गरेको छ। संस्थाले आफ्नो संरक्षणमा रहेकाहरूलाई आवश्यक काउन्सिलिङ परामर्श समेत प्रदान गर्दै आएको छ।

अघिल्लो वर्ष माइती नेपालले २१८ जनाको उद्धार गरेको थियो। यस वर्ष उद्धार हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम देखिए पनि जोखिम भने कायमै रहेको देखिन्छ। माइती नेपालको पछिल्लो १५ वर्षको अभिलेख हेर्दा हालसम्म २ हजार ५ सय ३१ जनाको उद्धार गरिसकिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।