लोड हुँदैछ...

मेनु

धरान, इटहरी र इनरुवामा अत्यधिक चिसोका कारण विद्यालय बन्द

धरान, इटहरी र इनरुवामा अत्यधिक चिसोका कारण विद्यालय बन्द

इटहरी । केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो तथा शीतलहरका कारण सुनसरीका स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।

धरान र इटहरी उपमहानगरपालिका तथ इनरुवा नगरपालिका क्षेत्रमा बुधबारदेखि तीन दिनको लागि विद्यालय बन्द गरिएको हो ।

धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ । सूचनाअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा पठनपाठन, परीक्षा तथा अन्य सबै शैक्षिक गतिविधि स्थगित गरिएको छ ।

नगर प्रमुखस्तरीय निर्णयअनुसार उक्त बिदा पछि कट्टा हुने जनाइएको छ । अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा जोखिम बढेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।

यस्तै, इटहरी उपमहानगरपालिकाले पनि शीतलहर बढेसँगै उपमहानगरपालिका भित्रका सम्पूर्ण सार्वजनिक तथा संस्थागत विद्यालयलाई पुस १६ देखि १८ गतेसम्म तीन दिन बिदा दिएको छ । शिक्षा शाखा प्रमुख रमेशकुमार शाहले जारी गरेको सूचनामा सो अवधिमा कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको छ ।

उता इनरुवा नगरपालिकाले पनि शीतलहरका कारण पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनीहरूलाई घरमै न्यानो वातावरणमा राख्न अभिभावकलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।