विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पारेका छन् । बुधबारदेखि विराटनगरमा सुरु हुने प्रदेश स्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्न आज मंगलबार विराटनगर आइपुगेका मन्त्री अर्यालले पत्रकारहरूसँग कुरा गर्दै आफू कुनै दलको सदस्य नभएको दाबी गरेका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीहरूले सुशासनको नारा दिने मन्त्रीहरू नै पार्टी खोल्न व्यस्त रहेको भनी सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भने, ‘म त्यसमा सहभागी छैन, यति मात्र भन्न सक्छु ।’
आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति र कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्न भोलि विराटनगरमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीको उद्घाटन गर्न गृहमन्त्री अर्याल एक दिनअगावै प्रदेश राजधानी आइपुगेका हुन् ।
सुरक्षा स्रोतका अनुसार यो बैठक मुख्यतया निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने विषयमा केन्द्रित हुनेछ । गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहनेछ । कार्यक्रममा जिल्ला सुरक्षा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा चुनौतीबारे ‘ब्रिफिङ’ गर्नेछन् र सोही आधारमा प्रदेश स्तरीय सुरक्षा कार्ययोजना तयार पारिनेछ ।
गृहमन्त्री अर्यालले आजै दिउँसो जेनजी आन्दोलनका क्रममा आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । साथै, उनी आजै सुनसरीको चतराधाम पनि पुग्ने कार्यतालिका रहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।