विराटनगर । तस्करीको गाँजा ओसारेबापत एम्बुलेन्स चालकले प्रतिकिलो २ हजार रुपैयाँ ‘भाडा’ बुझ्ने गरेको खुलेको छ । धनकुटा र उदयपुरबाट संकलित गाँजा भारतको सीमाक्षेत्रसम्म पुर्याएबापत उनीहरूले यस्तो रकम लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
आइतबार राति मोरङको केराबारीबाट ५ सय २१ किलो (५ क्विन्टलभन्दा) बढी गाँजासहित एम्बुलेन्स बरामद भएपछि यो तथ्य बाहिर आएको छ। धनकुटाबाट मोरङ हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले केराबारी–५ लाफा टोलमा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोक्न खोजेको थियो । तर, एम्बुलेन्समा सवार व्यक्तिहरू गाडी छाडेर जङ्गलतिर भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गर्नुपर्यो ।
‘सूर्यबहादुर थापा प्रतिष्ठान’ को नाममा सञ्चालित सो एम्बुलेन्सबाट १६ वटा ठूला पोकामा कोचेर राखिएको ५२१ किलो गाँजा बरामद भएको छ । प्रहरीले चालक निश्चल राई र खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी अनुसन्धानका अनुसार पहाडी जिल्ला धनकुटा र सुनसरीको चतरा क्षेत्रबाट संकलन गरिएको गाँजा एम्बुलेन्समा राखेर मोरङ र सुनसरीका सीमावर्ती नाका हुँदै भारत पुर्याउने गरिएको छ । साइरन बजाएर हिँड्दा प्रहरीले हत्तपत्त चेकजाँच नगर्ने र ‘इमर्जेन्सी’ भन्दै नाका पार गर्न सहज हुने भएकाले तस्करहरूले एम्बुलेन्सलाई मुख्य माध्यम बनाएका हुन् ।
पक्राउ परेका चालकले बयानका क्रममा प्रतिकिलो २ हजार रुपैयाँ लिने गरेको स्वीकारेका छन् । ‘धनकुटादेखि भारतको सीमावर्ती क्षेत्रसम्म गाँजा सुरक्षित पुर्याउने जिम्मा लिएको थिएँ, त्यहाँबाट अरूले लैजाने सहमति थियो,’ सुरक्षा स्रोतले एक अनुसन्धान अधिकृतलाई दिएको बयान उद्धृत गर्दै भन्यो, ‘त्यहाँ पुर्याएबापत प्रतिकिलो २ हजार रुपैयाँ पाउने कुरा थियो ।’’
तस्करीको यो सञ्जालमा ठूलो आर्थिक चलखेल हुने गरेको प्रहरीको दाबी छ । धनकुटाका पहाडी भेगमा प्रतिकिलो ५ देखि ६ हजार रुपैयाँमा खरिद गरिएको गाँजा भारत पुर्याउँदा तस्करीको गिरोहले २० देखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ ।
पूर्वी नेपालमा बिरामी बोक्ने सवारीलाई तस्करीमा प्रयोग गरिएको यो पहिलो घटना भने होइन । यसअघि गत असोज पहिलो साता विराटनगरको सीमा क्षेत्रबाट ‘राजन अधिकारी फाउन्डेसन’ को को १ च ४६१९ नम्बरको एम्बुलेन्सबाट २१.५ किलो गाँजासहित चालक गंगा सरकार पक्राउ परेका थिए । त्यस्तै, २०७८ जेठ ११ मा निषेधाज्ञाकै समयमा धरानको भेडेटार सडकखण्डमा ‘हुडेप नेपाल’ लेखिएको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद भएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बिरामी बोक्ने पवित्र उद्देश्यका लागि सञ्चालित एम्बुलेन्सलाई तस्करीको हतियार बनाइनु गम्भीर अपराध भएको बताए । उनले भने, ‘‘पछिल्लो समय एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध बरामद हुन थालेपछि हामीले सबै एम्बुलेन्सको निगरानी र सूक्ष्म अनुसन्धान बढाएका छौँ ।’’ धेरैजसो एम्बुलेन्स विभिन्न संघ–संस्था र फाउन्डेसनका नाममा दर्ता हुने तर ती संस्थाले अनुगमन नगर्दा चालक र तस्करबीच सिधा सम्बन्ध हुने गरेको प्रहरीको निष्कर्ष छ । सीमा पार गराउन भारतीय नम्बर प्लेटका मोटरसाइकलको समेत प्रयोग हुने गरेको छ । हाल बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका व्यक्तिहरूमाथि इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।