विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शीतलहर तथा जाडोको मौसम सुरु भएसँगै सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
शीतलहरका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा गरिब र विपन्न समुदाय बढी जोखिममा पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको हो।
प्रशासनले जारी गरेको सूचनामा शरीरका सबै भाग ढाक्ने गरी सफा, बाक्लो र न्यानो लुगा लगाउन, अत्यधिक जाडोको समयमा घर बाहिर तथा खुला स्थानमा लामो समय नबस्न र सुत्दा न्यानो सिरक, कम्बल जस्ता ओढ्ने कपडा प्रयोग गर्न आग्रह गरिएको छ। साथै, चिसोको समयमा आगो ताप्दा वा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन र पर्याप्त हावापास हुने व्यवस्था मिलाउन भनिएको छ।
सूचनामा ज्वरो, झाडापखाला, दम, खोकी, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ। पशुपन्छीलाई पनि चिसोबाट जोगाउन खुला स्थानमा नराख्न, गोठ सफा र न्यानो बनाउन तथा आवश्यक उपचारका लागि पशु चिकित्सालय वा सम्बन्धित निकायमा सम्पर्क गर्न प्रशासनले सुझाव दिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले शीतलहरको जोखिम न्यूनिकरणका लागि सबैले सचेतना अपनाउनुपर्ने उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन सबै जिल्ला वासीलाई हार्दिक अनुरोध गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।