विराटनगर । विराटनगरबाट प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ निवासी ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्।
विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकबाट आइतबार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। भारततर्फबाट आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको कार जाँच गर्ने क्रममा कारभित्रबाट स्रोत नखुलेको नगद रकम बरामद भएको प्रहरीको भनाइ छ।
हुण्डीको रकम कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले कारलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । बरामद भएको १ हजार दरका ४ सय थान, ५ सय दरका ३६० थान, १ सय दरका २ सय थानगरी जम्मा ६ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अग्रवाल, उनले प्रयोग गरेको कार र बरामद रकम इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।