उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पौतालिस चोकबाट साढे ७ सय किलोभन्दा बढी गाँजासहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय रबिनकुमार राई र बेलका नगरपालिका–९ बस्ने अन्दाजी २८ वर्षीय रामबहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार शुक्रबार राति करिब साढे १ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो । रामपुरबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो जिप जाँच गर्दा ७६३ दशमलव ७६ किलोग्राम गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसँगै बोलेरोसहित चालक रबिन र सोही गाडीमा सवार रामबहादुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।