लोड हुँदैछ...

मेनु

फरार कैदी र लागुऔषध कारोबारीसहित चार पक्राउ

फरार कैदी र लागुऔषध कारोबारीसहित चार पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा प्रहरीले लागूऔषध तथा धारिलो हतियारसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये एक जना झुम्का कारागारबाट फरार भएका कैदीसमेत रहेका छन् ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–७ स्थित श्रीजंग मार्गमा रहेको म्याक्स लिम्बुको घरमा छापा मारेको थियो । खानतलासीका क्रममा उक्त घरबाट प्रतिबन्धित लागूऔषध र विभिन्न धारिलो हतियार बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार घरबाट लागूऔषध ट्रामाडोल ५७० ट्याब्लेट र स्पासपेन ५५० क्याप्सुल बरामद गरिएको हो । यस्तै, घरभित्र लुकाइराखिएको अवस्थामा १ थान तरबार, २ थान खुकुरी, २ थान कट्टी, धार लगाउने १ थान ग्राइन्डर र १ थान सानो बन्चरो पनि फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध तथा हतियार कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा धरान–७ का २५ वर्षीय म्याक्स लिम्बु, धरान–७ कै २८ वर्षीय संसार थापा, धरान–१५ का १९ वर्षीय सन्देश लिम्बु र धरान–७ का १७ वर्षीय मनिष परियार रहेका छन् । पक्राउ परेकामध्ये १९ वर्षीय सन्देश लिम्बु लागूऔषध मुद्दाका फरार कैदी रहेको खुलेको छ । उनी जेनजी आन्दोलनको समयमा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए ।

लिम्बू फरार अवस्थामै पुनः लागूऔषध र हतियारसहित पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।