विराटनगर । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अन्तर्गत पर्ने नेले–चारघरे–मुक्ली सडक खण्ड निर्माण कार्यका लागि आज (मंसिर २९ गते) देखि १५ दिनसम्म पूर्ण रूपमा बन्द हुने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईद्वारा जारी सूचना अनुसार, सडक डिभिजन कार्यालय ओखलढुंगा र श्री रमन निर्माण सेवाबीच सम्झौता भई उक्त सडकको निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ ।
निर्माण कार्य तीव्र गतिमा अघि बढाउने क्रममा सडकमा निर्माण सामग्रीहरू थुपारिएको तथा ठुला औजार र उपकरणहरू प्रयोग भइरहेकाले यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । यात्रु तथा सवारी साधनको सुरक्षा र निर्माण कार्यलाई सहज बनाउन २०८२ मंसिर २९ गतेदेखि पुस १४ गतेसम्मका लागि उक्त बाटो पूर्ण रूपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
वैकल्पिक बाटो कुन प्रयोग गर्ने ?
सडक बन्द रहँदा सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्नका लागि गाउँपालिकाले वैकल्पिक मार्ग तोकेको छ । यात्रा गर्नेहरूले गाउँपालिका भवन, प्रहरी चौकी मैदेल हुँदै लेखखर्कको बाटो प्रयोग गर्न सक्नेछन् ।
गाउँपालिकाले सडक बन्दका कारण यात्रु तथा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै, विकास निर्माणको काममा सहयोग पुर्याउन र तोकिएको वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।