विराटनगर। करार सेवाका कर्मचारीहरुले अब महंगी भत्ता पाउने भएका छन् । सर्वोच्च अदालतले करारका कर्मचारीलाई पनि स्थायी कर्मचारी सरह महंगी भत्ता दिनुपर्ने फैसला गरेपछि करार कर्मचारीहरुले महंगी भत्ता पाउने बाटो खुलेको थियो । तर उक्त फैसला कार्यान्वयन भइरहेको थिएन ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले केही दिनअघि करार सेवामा कार्यरत सबै कर्मचारीलाई महँगी भत्ता दिन निर्देशन दिएपछि फैसला कार्यान्वयनमा जाने निश्चित भएको हो । अब करार सेवामा कार्यरत कर्मचारीहरुले साउन महिनादेखिकै महंगीभत्ता पाउने छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आदेश कार्यान्वयन गर्न निर्देशन दिँदै करार सेवाका कर्मचारीलाई स्थायी कर्मचारी सरह महँगी भत्ता उपलब्ध गराउन आग्रह गरेको हो । उक्त आदेशको आधारमा प्रधानमन्त्री कार्यालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै निकायलाई परिपत्र गरेको हो ।
यसअगाडि मासिक दुई हजार रुपियाँ महँगी भत्ता पाउँदै आएका कर्मचारीले सरकारले चालु आर्थिक वर्ष २०८२र८३ देखि थप तीन हजार भत्ता वृद्वि गर्दा अहिले मासिक पाँच हजार रुपियाँ महँगी भत्ता पाउँदै आएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यस आदेश कार्यान्वयन गर्दै सङ्घीय संसद् सचिवालय, सरकारी समिति, आयोग तथा सरकारी स्वामित्व भएका अन्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार रुपियाँ महँगी भत्ताको सुनिश्चित गरेको हो ।




1 प्रतिक्रिया
1 प्रतिक्रिया
धेरै राम्रो
प्रतिक्रियाहरू बन्द छन्।