विराटनगर । नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नै पार्टीका मन्त्रीले परिणाम दिने गरी काम गर्न नसकेको बताएका छन् । एमाले निकट प्रेस चौतारी कोशी र मोरङका आफू निकटका केही पत्रकारलाई विराटनगरस्थित होटल स्वागतममा बुधबार बिहान बोलाएर उनले यस्तो बताएका हुन् ।
केही दिनमै मन्त्रीमण्डल परिवर्तन हुने जानकारी दिँदै उनले भने, ‘अब रिजल्ट दिने मन्त्री’ नियुक्त हुन्छन् । मंसिरको पहिलो हप्तासम्म नयाँ मन्त्री नियुक्त गर्ने उनको भनाइ थियो । कार्कीले आफ्नै पार्टीका मन्त्रीहरूले पनि मन्त्रालयगत काममा अपेक्षित उपलब्धि नदिएको बताए । ‘अब सरकार जनताको नजरमा नतिजा देखिने गरी काम गर्ने मोडमा जान्छ । परिणाम नदिनेहरूलाई घर पठाइन्छ ।’
कार्कीले जेनेजी आन्दोलनका नाममा आगजनी, तोडफोड र लुटपाट गरेर प्रशासनिक संरचना कमजोर बनाइएको बताए । खरानी बनाइएको संरचनाबाट सेवा दिइरहेको प्रदेश सरकारलाई पुनः व्यवस्थित बनाउने उनको भनाइ थियो । ‘हाम्रा सबै संरचनाहरू जलेका छन् । तर, हामी अब परिणाम देखिने गरी अघि बढ्छौँ,’ उनले भने ।
उनले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं महाधिवेशनमा आफू सचिवमा लड्ने बताएका छन् । ‘उहाँले केन्द्रीय सचिवमा लड्ने र आफूलाई सहयोग गर्नुपर्ने भनेर स्पष्ट भन्नुभएको छ,’ उनी निकट स्रोतले भन्यो । सो क्रममा एमालेका २० देखि २५ प्रतिशत मानिसहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा देखिएपनि त्यसले खासै नेतृत्वलाई असर नगर्ने बताएका थिए ।
‘केही मान्छे अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लागेका छन्,’ कार्कीले भनेको कुरालाई उधृत गर्दै स्रोतले भन्यो, ‘त्यस्तो संख्या २० देखि २५ प्रतिशतसम्म हुनसक्छ ।’ भेटमा कोशी प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार गरिदिन पनि मुख्यमन्त्रीले आग्रह गरेका थिए । ‘तपाईहरुले कोशी प्रदेश सरकारले गरेका सकारात्मक कामहरूको प्रचार गरिदिनुपर्यो,’ उनले भनेका थिए ।
उनले हालको सुरक्षा अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै प्रहरीको मनोबल निकै कमजोर भएको बताए । ‘आन्दोलनमा प्रहरीमाथि आक्रमण भयो । प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरियो । हतियार लुटियो । त्यही भएर सुरक्षामा थ्रेट बढेको छ । प्रहरीको मनोबल शून्य जस्तै छ । प्रहरीको मनोबल उकास्दै नागरिकको सुरक्षा अहिलेको मुख्य विषय हो,’ उनले भने ।
मुख्यमन्त्री कार्कीले राजनीतिक निकासका लागि संविधान संशोधन र सुधारको साझा अभियानमा एमाले र कांग्रेस दुवै दलले एकसाथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । ‘चुनावले मात्र स्थायित्व ल्याउँछ भन्ने ग्यारेन्टी छैन । त्यसका लागि दलहरूले जिम्मेवारीपूर्वक आत्मसुधार गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।
भेटघाटमा कोशी प्रदेश प्रेस चौतारीका अध्यक्ष सुमन पुरी, महासचिव बाबुराम भण्डारी, केन्द्रीय सदस्य सुमन सुस्केरा, मोरङ अध्यक्ष चिना थापा, पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदिप कोइराला, मोरङका सचिव नेत्र पि अधिकारी र पत्रकार किशोर बुढाथोकीलगायतको उपस्थिति थियो ।
