लोड हुँदैछ...

मेनु

कोशी प्रदेश : एमालेका मन्त्रीहरु परिवर्तन गर्ने अन्तिम तयारी

कोशी प्रदेश : एमालेका मन्त्रीहरु परिवर्तन गर्ने अन्तिम तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट सहभागी भएका मन्त्रीहरुलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले यसअघि नै मन्त्रीमण्डल पुनःगठन गर्न पार्टीले निर्देशन दिइसकेको बताए । ‘हामीले मन्त्रीमण्डल पुनःगठनको लागि मुख्यमन्त्रीलाई यसअघि नै निर्देशन दिइसकेका छौं,’ राईले भने, ‘हामीले भनेको लामै समय भयो । अब छिट्टै पुनःगठन होला ।’

उनले सबै मन्त्री परिवर्तन गर्ने एमालेको निर्णय भएको बताए । ‘हामीले सबै मन्त्रीलाई परिवर्तन गरौं भनेका छौं,’ राईले भने, ‘काँग्रेसले गरेन भने हाम्रो पार्टीबाट सरकारमा गएका सबै मन्त्रीहरु परिवर्तन हुन्छन् ।’ एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले पनि छिट्टै मन्त्रीमण्डल विस्तार हुने बताए । ‘अब छिट्टै मन्त्रीमण्डल परिवर्तन हुन्छ,’ लिङ्थेपले भने, ‘काँग्रेसले नमाने एमालेका मात्रै भएपनि मन्त्रीहरु परिवर्तन गर्ने मुख्यमन्त्रीको तयारी छ ।’

एमालेबाट हाल रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाई तथा उर्र्जा, रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानून मन्त्री र सिर्जना राई राज्यमन्त्री रहेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारी भने २०८१ मंसिर १७ गते नियुक्त भएका हुन् । काँग्रेस र एमाले मिलेर बनेको गठबन्धनबाट २०८१ भदौ २८ गते नयाँ मन्त्रीमण्डल बनेको हो । त्यसबेला एमालेबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा लिलाबल्लभ अधिकारी नियुक्त भएका थिए । अवैध तरिकाले जापान जाने समूहसँगै सुटुक्क जापान पुगेर फर्किएको विषय सार्वजनिक भएपछि अधिकारीले राजनीनामा दिएपछि सो मन्त्रालयमा भण्डारीलाई नियुक्त गरिएको हो ।

प्रदेशमा काँग्रेसको तर्फबाट भने भुपेन्द्र राई भौतिक पूर्वाधार विकास, खगेनसिह हाङ्गाम उद्योग, कृषि तथा सहकारी, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र भुमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको रुपमा कायम छन् । काँग्रेसका मन्त्री हाङ्गाम र मण्डलभने विवादित बनेका छन् । उनीहरुलाई परिवर्तन गर्ने विषयमा काँग्रेसले उपर्युक्त निर्णय गर्न नसकेको कारण मुख्यमन्त्री कार्कीले एमालेका मात्रै मन्त्री परिवर्तन गर्न लागेका हुन् ।

यसअघि एमाले प्रदेशका इन्चार्ज शेरधन राईले विवादमा परेका काँग्रेसका मन्त्रीहरुलाई सो पार्टीले तत्काल फिर्ता लिनुपर्ने र नलिएको खण्डमा आवश्यक कदम मुख्यमन्त्रीले चाल्नुपर्ने बताएका थिए । एमालेले मन्त्रीहरु परितर्वन गर्न लागेपनि नयाँ मन्त्रीहरु को–को पठाउने भन्ने निर्णय गरिनसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।