विराटनगर । जनताको कामलाई बन्धक बनाएर फोहोरमैला अध्ययनको नाममा गरिएको ‘वनभोज शैली’को भ्रमणले मोरङको लेटाङ नगरपालिका–३ का जनप्रतिनिधिहरू विवादमा तानिएका छन् । वडा अध्यक्ष डम्बरबहादुर राईको नेतृत्वमा वडाका अधिकांश जनप्रतिनिधि र सबै कर्मचारीहरू स्याङ्जाको वालिङतर्फ लागेपछि सिङ्गो वडा कार्यालय नै ठप्प भएको थियो ।

आफ्नै छेउमा रहेको वडा कार्यालयको सम्पूर्ण टिम ‘अध्ययन भ्रमण’ मा निस्किँदा नगरपालिका स्वयं बेखबर रहेको पाइएको छ । उपमेयर कृष्णकुमारी पोख्रेल निरौलाका अनुसार वडा कार्यालयले यति ठूलो निर्णय गर्दा नगरपालिकालाई कुनै औपचारिक जानकारी दिएको थिएन । ‘वडा कार्यालय नगरपालिकाकै छेउमा छ, तर उहाँहरूले भ्रमणबारे हामीलाई कुनै जानकारी गराउनुभएन,’ उपमेयर पोख्रेलले भनिन् ।

दस्यहरू नरेन्द्र पराजुली, अमिता राई र शरणकुमारी विक लगायत सम्पूर्ण कर्मचारी भ्रमणमा निस्किएका छन् । रोचक त के छ भने, भ्रमणमा कोही पनि नछुटुन् भन्ने मनसायले होला, कार्यालयको कार्यवाहक अध्यक्ष को हो भन्ने टुङ्गोसमेत नलगाई सम्पूर्ण टिम हिँडेको थियो । सूचनामा ‘कार्यवाहक वडा अध्यक्ष’ को हस्ताक्षर भए पनि त्यो व्यक्ति को हो भन्ने रहस्यले उनीहरूको हतारो र अव्यवस्थापनलाई प्रस्ट पारेको छ ।

जब वडा कार्यालय बन्द भएको सूचना सामाजिक सञ्जालमा फैलियो र चौतर्फी आलोचना सुरु भयो, तब मात्र नगरपालिकाको निन्द्रा खलेको थियो । अत्यावश्यक सेवा लिन आएका नागरिकहरू रित्तो हात फर्कनुपरेको गुनासो बढेपछि नगरपालिकाले हस्तक्षेप गर्न बाध्य भयो ।

अचानक, बिरामी भएर भ्रमणमा जानबाट छुटेका वडा सदस्य रामप्रसाद अधिकारी ’खोजि’मा परे । नगरपालिकाले तुरुन्तै उनलाई कार्यवाहकको जिम्मेवारी तोक्यो र अर्को वडाका सचिवलाई लेटाङ–३ को पनि काम हेर्ने गरी खटाएर स्थितिलाई सम्हाल्ने प्रयास ग¥यो । वडा सदस्य अधिकारी बिरामी नभएका भए, चार दिनसम्म वडा कार्यालयमा ताल्चा लाग्ने निश्चित थियो । ‘म बिरामी भएर नगएको हुँ, आज कार्यालय बन्द छ भनेर मलाई कसैले भनेको थिएन,’ कार्यवाहक बनेका अधिकारीले भने ।

जनताको करबाट उठेको रकमलाई ‘अध्ययन’ को नाममा सामूहिक मनोरञ्जनमा खर्च गर्ने जनप्रतिनिधिको यो शैली नौलो भने होइन ।