विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । इलामको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार अझै १ जना वेपत्ता छन् भने २० जना घाइते भएका छन् ।
इलामका ७ वटा स्थानीय तहमा ठूलो मानवीय क्षति भएको हो । पहिरोले घरहरू पुरिँदा र बगाउँदा सुतिरहेका अवस्थामा धेरैले ज्यान गुमाउनुपरेको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी क्षति देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा भएको छ । दुवै पालिकामा ८–८ जनाको मृत्यु भएको छ । त्यसैगरी, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जनाले ज्यान गुमाएका छन् । सूर्योदय नगरपालिकामा ५ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेहरूमा १७ जना पुरुष र २० जना महिला रहेका छन् ।
यसैगरी, इलाम नगरपालिकामा एक जना बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको छ । घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरू उद्धार कार्यमा खटिएका छन् । वर्षा नरोकिएको र भौगोलिक विकटताका कारण उद्धारमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालको भनाइ छ ।