विराटनगर । अविरल वर्षासँगै केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विराटनगरसहित मोरङका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ । बाढी र कटानका कारण मोरङ जिल्लाका २५१ परिवारका १ हजार २० जना प्रभावित भएका छन् । तीमध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार विराटनगर महानगरपालिका र आसपासका बस्तीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
केशलीया खोलामा आएको बाढी विराटनगर–१२ बखरीस्थित सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ निर्माणाधीन फ्याक्ट्रीमा अस्थायी रूपमा राखिएको छ ।
त्यस्तै, सिंघिया खोलाको बाढी विराटनगर–२ पूर्वटोलमा पस्दा ३५ घर डुबानमा परेका छन् । ती घरका १५० जना स्थानीय सुरक्षित स्थानमा सरेका छन् । विराटनगर–५ शंकरबारी टोलमा २० घर बाढीले प्रभावित भएका छन् भने ७० जना आफन्तकहाँ गएर बसेका छन् ।
विराटनगर–८ को सुकुम्बासी बस्तीमा पनि सिंघिया खोलाले ११ घरमा पसेर ४० जना विस्थापित गरेको छ । ती परिवारहरू आफैं सुरक्षित स्थानमा सरेका छन् ।
सिंघिया खोलाको बाढी विराटनगरसँग जोडिएको कटहरी गाउँपालिका–१ बख्खु टोलमा पनि पसेको छ । सो क्षेत्रमा ३५ परिवार विस्थापित भएका छन् र उनीहरूलाई नारी विकास संघको भवनमा राखिएको छ ।
यसैबीच, सुनबर्षी नगरपालिका–६ कैनिटोलमा बक्राहा खोलाले साइड बाँध कटान गरेको छ भने उर्लाबारी–१ बोडरलाइनमा रतुवा खोलाले पनि साइड बाँध भत्काएर बस्तीमा बाढी पसेको प्रहरीको जानकारीमा आएको छ ।
सुनबर्षी–३ बाहुनटोलमा बक्राहा खोलाले करिब ४–५ मिटर बाँध कटान गरी ६० घरमा बाढी पसेको छ । त्यस्तै, मिक्लाजुङ गाउँपालिका–६ मलामीटहेरामा नुनसरी खोलाको बाँध समेत कटान भएको छ ।