दरबार हत्याकाण्ड भएको २४ वर्ष पुरा, छानविन हुन नसकेको घटना

विराटनगर । नारायणहिटी दरबारमा तत्कालीन राजा विरेन्द्र शाहसहित परिवारको समूहिक हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास गरिएको थियो ।

राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, विरेन्द्रका कान्छा भाई धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्गलगायतको हत्या भएको थियो । सो हत्याकाण्डमा विरेन्द्रका माइला भाई ज्ञानेन्द्र शाहको परिवारका सदस्य भने कसैलाई केहि भएन ।

विरेन्द्रको वंशनासपछि तत्कालीन युवराज दीपेन्द्र घाइते रहेको भन्दै उनलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । जेठ २२ गते दीपेन्द्रको मृत्यु घोषणा गरेर ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो।

ज्ञानेन्द्रको निर्देशनमा गठन भएको दरबार नियन्त्रित छानविन समितिले युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको प्रतिवेदन दिएको थियो । तर, आम नागरिकले पनि आज पनि ज्ञानेन्द्रले नै विरेन्द्रको वंश विनास गरेको भन्ने गरेका छन् ।

नेपाली सेनाको कडा सुरक्षा घेराभित्र दर्जनौंको हत्या दिपेन्द्रले गरेको विश्वास गर्ने आधार छैन । त्यसमाथि गोली लागेका घाइतेहरुलाई नारायणहिटी दरबारबाट नजिकै रहेको शिक्षण अस्पताल नलगी सैनिक अस्पताल लैजान, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत घाइते र मृतकको शवसमेत हेर्न नदिनु, मृतकहरुको पोष्टमार्टम नगरिनु, हत्याकाण्ड भएको स्थान ज्ञानेन्द्रले राजा भएपछि भत्काउनु, राजा विरेन्द्र र उनका कान्छा भाईका सम्पूर्ण परिवारको हत्या हुँदा ज्ञानेन्द्रको परिवारका सदस्यहरुलाई केहि नहुनु, सबै परिवारका सदस्यहरुको जमघट रहेको भनिएको सो दिन ज्ञानेन्द्र उपस्थित नहुनुले घटना ज्ञानेन्द्र शाहलै नै गराएको दावी गर्ने गरिएको छ ।

स्वतन्त्र छानविन नभएकोले उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके सो हत्याकाण्डको छानविन हुन सकेको छैन ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्रले नेपालमा दलहरुलाई प्रतिबन्ध लगाउँदै निरंकुश शासन सुरु गरेका थिए । तर, राजतन्त्र धेरै समय टिक्न सकेन । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२–६३ मा जनयुद्धमा रहेको माओवादीसँग पनि सहमति गरेर जनआन्दोलन चर्काए र नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरियो ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने । अहिले उनै ज्ञानेन्द्र वा ज्ञानेन्द्रका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने मागसहित राजावादीहरुले आन्दोलन गर्दै आएका छन् ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो । जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको उक्त प्रतिवेदन रानाभाटले सार्वजनिक गरेका थिए । तर, त्यो छानविनको विश्वसनीय आधार थिएन ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि घटना छानविन गर्ने विषय उठाएका थिए । त्यसबेला गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्ने बताए पनि प्रक्रिया अगाडि बढेन ।

अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

जेष्ठ १९, २०८२, बिहानको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर