गणतन्त्र दिवसमा कोशी सरकारले ‘कन्सर्ट’ आयोजना गर्ने

विराटनगर । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते कोशी प्रदेश सरकारले कन्सर्ट आयोजना गर्ने भएको छ ।

गणतन्त्र दिवसको अवसरमा विराटनगरमा कलाकारहरुलाई ल्याएर कन्सर्ट आयोजना गर्ने तयारी कोशी प्रदेश सरकारले गरेको हो ।

कोशी सरकारले महेन्द्र चौकमा अपरान्ह ३ बजे आयोजना गर्ने कन्सर्टमा गायिकाहरु रचना रिमाल, गंगा गौतम, अञ्जु गौतम, सृष्टि हिङ्माङ र गायक सुमित खड्काको प्रस्तुती रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । यस्तै कार्यक्रममा नेपाल प्रहरीको ब्याण्डको पनि प्रस्तुती रहनेछ । राष्ट्रिय भावनाले ओतप्रोत भएका गितहरुको प्रस्तुती कन्सर्टमा हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुईटेलले जानकारी दिए ।

गणतन्त्र दिवसकै अवसरमा जेठ १४ गते संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मुल समारोह समितिले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका प्रदिप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने तथा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल र नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले टिप्पणी गर्ने बताइएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा रहेको गणतन्त्र दिवस प्रदेशस्तरीय मुल समारोह समितिले जेठ १५ गते रोडषेश चोकबाट महेन्द्र चौकसम्म प्रभातफेरि गर्ने, सोही दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिताका विजेतालाई सम्मान गर्ने र अपरान्ह कन्सर्ट आयोजना गर्ने तय गरेको छ । यसअघिका गणतन्त्र दिवसमा जस्तो दिपावली गर्ने, सरसफाइ गर्ने, गणतन्त्रको उपलब्धिबारे छलफल गर्ने जस्ता कार्यक्रम भने यसपटक हटाएर कन्सर्ट आयोजना गर्ने नयाँ कार्यक्रम राखिएको हो ।

यसअघि संविधान दिवसको अवसरमा गत असोज ३ गते संघीय सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौंको दरबारमार्गमा कन्सर्ट आयोजना गरेको थियो । सो कन्सर्टमा प्रधानमन्त्री पुग्दा उनकै विरुद्ध नाराजाबी भएपछि उनी हतारहतार कार्यक्रमबाट निस्किएका थिए । त्यसकै सिको गर्दै प्रदेश सरकारले कन्सर्ट आयोजना गर्न लागेको हो ।

काठमाडौंमा गणतन्त्र दिवसकै दिन राजावादीहरुले रातन्त्र फिर्ता गर्ने आन्दोलन सुरु गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने सो दिन काठमाडौंका सडक कब्जा गर्न एमाले कार्यकर्तालाई निर्देशन दिएका थिए ।

मङ्गलबार, १४ जेठ, २०८२, दिउँसोको ०३:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर