लोड हुँदैछ...

मेनु

गृहमन्त्री लेखकको बचाउ गर्दै शेखरको धारणाविरुद्ध सिटौला

गृहमन्त्री लेखकको बचाउ गर्दै शेखरको धारणाविरुद्ध सिटौला

विराटनगर। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अध्यागमन विभागबाट भिजिट भिसामा भएको घुस लेनदेन प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।

आइतबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा नेता सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने दावी गरे ।

गृह मन्त्रालयकै संलग्नतामा भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख रुपैयाँसम्मको घुस लेनदेन भएको विषय बाहिर आइरहेको छ । सो प्रकरणमा गृहमन्त्री लेखकका निकट रहेका सहसचिब तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानपछि तारेखमा छाडेको छ । यो प्रकरणमा गृहमन्त्री र उनको सचिवालयको पनि संलग्नता रहेको आरोप लागेको छ ।

यसअघि प्रतिपक्षमा रहँदा कुनैपनि मन्त्री विवादमा मुछिएमा राजीनामा दिनुपर्ने बताएका लेखकले अहिले भने आफ्नो दोष नरहेको तर्क गर्दै आएका छन् । उनलाई काँग्रेसकै नेता डा.शेखर कोइरालाले राजीनामा दिन सुझाब दिएपनि सिटौलाले भने बचाउ गरेका हुन् । ‘कुनैपनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ, त्यसो हो भने’, सिटौलाले भने, ‘त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी ।’

सिटौलाले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह गर्नुपर्ने डा.शेखरको धारणाप्रति पनि असहमति जनाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

शनिबार विराटनगरमै सिटौलाले हिन्दुराष्ट्र र राजसंस्थाबारे जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका थिए । राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पनि आवश्यक नभएको तर्क गरे ।

२०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले २०८३ को दशैँको आसपासमा तयारी गर्नुपर्ने सिटौलाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।