विराटनगर। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अध्यागमन विभागबाट भिजिट भिसामा भएको घुस लेनदेन प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।
आइतबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा नेता सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने दावी गरे ।
गृह मन्त्रालयकै संलग्नतामा भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख रुपैयाँसम्मको घुस लेनदेन भएको विषय बाहिर आइरहेको छ । सो प्रकरणमा गृहमन्त्री लेखकका निकट रहेका सहसचिब तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानपछि तारेखमा छाडेको छ । यो प्रकरणमा गृहमन्त्री र उनको सचिवालयको पनि संलग्नता रहेको आरोप लागेको छ ।
यसअघि प्रतिपक्षमा रहँदा कुनैपनि मन्त्री विवादमा मुछिएमा राजीनामा दिनुपर्ने बताएका लेखकले अहिले भने आफ्नो दोष नरहेको तर्क गर्दै आएका छन् । उनलाई काँग्रेसकै नेता डा.शेखर कोइरालाले राजीनामा दिन सुझाब दिएपनि सिटौलाले भने बचाउ गरेका हुन् । ‘कुनैपनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ, त्यसो हो भने’, सिटौलाले भने, ‘त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी ।’
सिटौलाले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह गर्नुपर्ने डा.शेखरको धारणाप्रति पनि असहमति जनाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
शनिबार विराटनगरमै सिटौलाले हिन्दुराष्ट्र र राजसंस्थाबारे जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका थिए । राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पनि आवश्यक नभएको तर्क गरे ।
२०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले २०८३ को दशैँको आसपासमा तयारी गर्नुपर्ने सिटौलाको जोड छ ।