विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार भएको समूह बी को अन्तिम लिग खेलमा पाहुना टोली भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको छ।
जितपछि समूह बी मा पुलिस, आसाम र घरेलु टोली कोशी प्रदेशले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २(२ अंक जोडेका छन्। नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो। यसअघि समूह ए बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। फाइनल खेल शनिबार हुनेछ ।
पाहुना टोली आसामले दिएको १५५ रनको चुनौती २८ ओभरमा जित्नुपर्ने दबाबका बिच मैदान प्रवेश गरेको पुलिसले २६।१ ओभरमा ४ विकेट गुमाई जित हात पारेको थियो ।
टस जितेर ब्याटिङ थालेको आसामले निर्धारित ५० ओभरको खेलमा ४२।२ ओभरमा सबै विकेट गुमाई १५४ रनको स्कोर बनाएको थियो। आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेन कश्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए। पुलिसका श्रवण यादवले ३ विकेट लिँदा अरुण ऐरीले पनि ३ विकेट लिए ।
जवाफमा १५५ रनको लक्ष्य पाएको पुलिसले २६.१ ओभरमा ४ विकेट गुमाई लक्ष्य पार गरेको छ। पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिँदा शंकर रानाले ६७ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले। एक समयमा पुलिस ६.२ ओभरमा ४३ रनमा ४ विकेट गुमाई नाजुक स्थितिमा रहेको बेला कप्तान अमित र शंकरले पाँचौँ विकेटका लागि ११९ बलमा अविजित ११७ रनको ठोस साझेदारी गरेका थिए। आसामका कप्तान गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए ।