विराटनगर । हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा भव्यरुपमा सम्पन्न भएको छहो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई लगायत विशिष्ट उद्योगी व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो।२०६१ साल वैशाख ६ गतेदेखि भूमिगत रुपमा प्रकाशन आरम्भ भएको तत्कालिन जनविद्रोह साप्ताहिक नै हाल हाम्रोमत दैनिकको रुपमा प्रकाशित हुँदै आएको हो। पूर्वाञ्चली जनसञ्चार सहकारी संस्था लि। द्वारा प्रकाशित यस पत्रिकाले कोशी प्रदेशको एक प्रभावशाली दैनिकको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ।
हाम्रोमत दैनिकले विशेषगरी भ्रष्टाचार, बेथिति, अराजकता र कुशासनको विरुद्धमा खोजमूलक समाचारहरु प्रकाशित गर्दै आएको छ। प्रदेश सरकार र प्रदेशसभाको निगरानी तथा खबरदारीमा यस पत्रिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसका साथै विराटनगरको आर्थिक विकासमा उद्योगी व्यापारी क्षेत्रहरुसँग सहकार्य गर्दै यसका समस्याहरु उजागर गर्ने कार्यमा पनि पत्रिका सक्रिय रहँदै आएको छ।

























