नेकपा एस मोरङको नवौं अधिवेशनको तयारी पूरा

विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला कमिटी नवौंं जिल्ला अधिवेशनको अन्तिम तयारीमा जुटेको छ । उक्त पार्टीको नवौं जिल्ला अधिवेशन यही चैत १९–२० मा विराटनगरमा हुँदैछ ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने आयोजक कमिटीका संयोजक चन्द्रवीर राईले बताए । उनका अनुसार अधिवेशनमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाललगायतका केन्द्रीय नेताहरू सहभागी हुने छन् ।

अधिवेशनका लागि प्रतिनिधि छनौटलगायतका काम सकिएको संयोजक राईले बताए । त्यसका लागि झण्डै ६ सय प्रतिनिधि चुनिएका छन् । अधिवेशन उद्घाटनका दिन मंगलबार पार्टी कार्यालय विराटनगर तीनपैनीबाट जुलुस सुरु भई कार्यक्रमस्थल होटल मनास्लु इनमा पुग्ने उनले जानकारी दिए । उद्घाटनका अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान दिएका झण्डै एक दर्जन बढी व्यक्तिलाई सम्मान गरिने बताइएको छ । त्यस्तै सो दिन विभिन्न व्यक्तिको पार्टी प्रवेशको कार्यक्रम पनि रहेको नेकपा एकीकृत समाजवादी नवौं मोरङ जिल्ला अधिवेशन आयोजक कमिटीका सहसंयोजक डा. उद्धव पोखरेलले बताए । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न हुने बताइएको छ ।

यसैबीच, राजसंस्था पुनर्स्थापनाका नाममा काठमाडौंमा शुक्रबार भएको अराजक घटनाको नेकपा एकीकृत समाजवादी मोरङले निन्दा तथा भत्र्सना गरेको छ । संयोजक चन्द्रवीर राईले शनिबार विज्ञप्ति जारी गर्दै अराजक जथ्थाले पार्टीको काठमाडौंस्थित केन्द्रीय कार्यालय तोडफोड तथा आगजनी गरेकोमा तिनको पहिचान गरी कारवाही गर्न माग गरेका छन् । त्यस्तै, आम नागरिक तथा राजनीतिक दलको कार्यालय सुरक्षित गर्न नसक्नु सरकारको गैरजिम्मेवारी चरित्र प्रकट भएकोमा त्यसप्रति उनले खेद प्रकट गरेका छन् ।

शनिबार, १५ चैत, २०८१, साँझको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर