विराटनगर । प्रदेश सरकारको लगानीमा निर्माण हुने सगरमाथा पर्यटन सडक कालोपत्रे गर्ने कामको शिलान्यास मेयरले गरेको भन्दै सोलुखुम्बुका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले असन्तुष्टि जनाएका छन् ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सडक शिलान्यास गरेको विषयमा सांसदले प्रदेशको बजेटलाई स्थानीय तहको झैं गरेर हल्ला चलाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जालमा सडक शिलान्यासको फोटो राखेर राजभण्डारीले असन्तुष्टि जनाएका छन् । ‘हाँडी गाउँको जात्रा चाहिँ हाम्रै जिल्लामा हुन्छ । प्रदेश सरकारको योजना पालिकाले उद्घाटन गरेर हैरान, हन लाज हुँदैन साथी हो ?’ उनको प्रश्न छ, ‘अब त लाज पनि लजाउँछ त, मेयर साव !’ उनले सोलुखुम्बुको सोलुदुधकुण्डका प्रमुखप्रति असन्तुष्टि जनाएका हुन् ।
सांसद राजभण्डारीले असन्तुष्टि जनाएपछि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ का पूर्ववडाध्यक्ष काजी शेर्पाले जवाफ दिएका छन् । सोलुखुम्बु प्रदेश(क) का माननीय गोम्बु शेर्पाले वडा नम्बर ९ को सडकका लागि बजेट छुट्याएको भएपनि तपाईले खै छुट्याएको भन्ने उनको प्रश्न छ । राजभण्डारीले आफूले धेरै योजना र बजेट हालेको जवाफ दिएका छन् ।
सोलुखुम्बुको फाप्लुबाट टाक्सिन्दु हुँदै खुम्बु जोड्ने सगरमाथा पर्यटन सडक कालोपत्रेको शिलान्यास गर्ने विषयमा दोहोरी चलेको हो । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत सडक निर्माण हुन लागेको हो ।
कुल ३७ करोड २८ लाख ७६ हजार ७ सय ६० रुपैयाँको लागतमा बन्ने सडकको सोलुदुधकुण्ड नगरपालिका प्रमुख शेर्पाले शिलान्यास गरेका थिए । फाप्लुबाट टाक्सिन्दुको रिङ्मु नजिकसम्म करिब १० किलोमिटर सडक कालोपत्रे २ वर्षभित्र सक्ने तयारी छ । सडक प्रदेश सरकारको बहुबर्षिय योजना अन्तरगतको भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।