विराटनगर । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ समितिले सरकारले कुलमान घिसिङलाई हटाएकोप्रति असहमति जाहेर गरेको छ ।
क्षेत्रीय समितिका सचापति सुजेन्द्र तामाङ, धरान उपमहानगर समितिका सभापति श्याम पोखरेल र दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरु अनिल श्रेष्ठ र मुरारीप्रसाद भट्टराईले एक विज्ञप्ति प्रकाशित गर्दै कुलमान घिसिङलाई हटाएको प्रति घार विरोध र भत्र्सना गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक घिसिङले दैनिक १८ घण्टासम्मको लोडसेडिङलाई चमत्कारिक ढंगबाट मुक्त गराएको र घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा ल्याउन सफल भएको भन्दै उनीहरुले सरकारले निरंकुश र स्वेच्छाचारी ढंगले पदबाट हटाउने निर्णय गरेको आरोप लगाइएको छ ।

‘हठातमा घिसिङलाई पदबाट हटाउने निर्णय बलमिच्याइपूर्ण रहेको हाम्रो ठहर छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘समग्र असल र दक्ष कर्मचारीहरुको समेत मनोबल घट्ने गरी केही महिना मात्र सेवा अवधि भएका घिसिङलाई एकाएक हटाउने कार्य जनभावना विपरीत हुनुका साथै जुनसुकै कोणबाट पनि सही नहुने हाम्रो ठहर छ ।’
विज्ञप्तिमा सरकार र पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदै पदबाट हटाउने निर्णय फिर्ता लिन माग गरिएको छ । सरकारको डेलिभरी, सुशासन र समुन्नतिका क्षेत्रमा आम जनतामा भएको असन्तुष्टिलाई प्रतिगमनकारीहरुले निराशाको भाष्य बनाएर जनआन्दोलनबाट प्राप्त बहुदवादमा आधारित संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थादाई नै फालेर फेरि निरंकुश सामन्ती राज्य व्यवस्था ल्याउन उद्धत भइरहेको बेला त्यसैलाई बल पुग्ने गरी यो निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।