विराटनगर । २०६४ को संविधानसभा निर्वाचनपछि मोरङमा आफ्नो जनमत निरन्तर खस्किरहेको नेकपा माओवादी केन्द्र गत उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि उत्साहित बनेको छ ।
२०८१ मंसिरमा सम्पन्न ग्रामथान गाउँपालिका अध्यक्षमा जित निकालेपछि २०६४ फर्काउने दावी गर्दै आएको माओवादी केन्द्रले हालै सम्पन्न स्ववियु निर्वाचनमा सानदार उपस्थिति देखाएको छ ।मोरङका ९ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा माओवादी निकट अखिल क्रान्तिकारीले ३ आंगिकसहित ६ वटामा जित निकालेको छ । यो जीत प्रतिस्पर्धी संगठनहरुको लागि चुनौति मात्र नभएर आश्चर्यमा पार्ने परिणाम हो ।
क्रान्तिकारीले आंगिक क्याम्पसहरु महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङ क्याम्पस जितेको छ । जबकि अघिल्लो स्ववियु निर्वाचनमा क्रान्तिकारीले केराबारीको खदम क्याम्पसबाहेक कतै पनि चुनाब जित्न सकेको थिएन । अघिल्लो चुनाबमा उम्मेदवार पाउन धौ–धौ भएको विराटनगर नर्सिङ क्याम्पसको अध्यक्ष पनि जितेर क्रान्तिकारीले सबैलाई चकित पारिदिएको छ ।
स्ववियुमा एमाले निकट अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पसमा जित निकाल्दा नेविसंघले लेटाङ क्याम्पस जितेको छ । उर्लाबारी र पथरी क्याम्पसमा भने सबैको सहमतिमा नेविसंघको अध्यक्ष निर्वाचित भएको थियो ।
गत मंसिरमा ४१ स्थानमा भएको उपनिर्वाचनमा काँग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले प्रस्तुत भएको थियो । माओवादीको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी भारी मतान्तरसहित निर्वाचित भए । जबकि पालिकामा नेपाली काँग्रेस र एमालेले एकअर्कालाई प्रतिस्पर्धी बताइहरेका थिए ।
२०७९ को निर्वाचनमा माओवादी ग्रामथानमा तेस्रो थियो । त्यो पनि धेरै मतारन्तरसहित तेस्रो अवस्थामा रहेको पार्टीले काँग्रेस र एमालेलाई स्तब्ध बनाउँदै जित निकालेको थियो । अहिले स्ववियुमा निकालेको जितले दुबै पार्टीलाई थप तनाब दिएको छ ।
मोरङ मात्र हैन कोशी प्रदेशमा १ पदमा अध्यक्ष र ७ वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा पनि माओवादी पहिलो बन्यो । २०७९ को निर्वाचनमा अधिकांश स्थानमा तेस्रो भएको माओवादीले उपनिर्वाचनमा १ अध्यक्ष र २ वडाध्यक्ष पदमा जित निकाल्दै पहिलो दल बन्दा नेपाली काँग्रेस र नेकपा एमालेले दुई–दुई वडाध्यक्ष र एक जना स्वतन्त्र वडाध्यक्षमा विजयी भएका थिए ।
अघिल्लो निर्वाचनमा काँग्रेसले पालिका अध्यक्षसहित जितेको ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो । लोकप्रिय मतमा पनि माओवादी पहिलो थियो । उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदयपुरको त्रियुगा १२ र बेलका ९ जितेको छ ।
कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भयो । जसअनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा काँग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा काँग्रेसले १० हजार ६५१ मत ल्याएको थियो भने एमालेले ९ हजार ४५१ मत पाएको थियो ।
उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हेर्दा माओवादीले आफ्नो हैसियतमा सुधार गरेको देखिन्छ । यहि परिणामलाई लिएर माओवादीले आगामी ८४ को निर्वाचनलाई ६४ मा जस्तै विजय हुने प्रचार गरिरहेको छ । माओवादीले त्यतिमात्रै भनेको छैन । समाजवादी क्रान्तिको आधार क्षेत्र पूर्वी नेपाल बन्ने व्याख्या गरिरहेको छ ।
माओवादीले झापा, मोरङ र सुनसरीलाई नै केन्द्रीत गरेर केही सयम अगाडि तराई मधेश हुलाकी राजमार्ग लक्षित अभियान संचालन गरेको थियो । त्यसअघि पनि अध्यक्ष प्रचण्ड पटकपटक झापा, मोरङ र सुनसरीका विभिन्न कार्यक्रमा सहभागी हुँदै आएका छन् । त्यसले पनि माओवादीको जितमा सहयोग गरेको पार्टीले जनाएको छ ।