मोरङको अधिवेशन सम्झाउँदै ढकालले भने : चौतारीको अधिवेशनले पनि सन्देश दिनुपर्छ

विराटनगर । नेकपा एमालेका नेता विनोद ढकालले प्रेस चौतारीको महाधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको दशौँ अधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै उनले चौतारीले अलग सन्देश दिन सक्नुपर्ने बताएका हुन् ।

केहि दिन अगाडि मोरङको दशौँ जिल्ला अधिबेशनमा अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको प्यानलविरुद्ध ढकालले अलग्गै प्यानल खडा गरेर बहुमतसहित जित निकालेका थिए । चौतारीको अधिवेशनमा पनि अध्यक्ष ओलीले उपाध्यक्ष गणेश पाण्डेलाई सर्वसम्मत गर्न निर्देशन दिएको भन्दै प्रतिनिधिहरु असन्तुष्ट रहेको बेला ढकालले नयाँ सन्देश दिनुपर्ने बताएका हुन् ।

चौतारीको महाधिवेशनको प्रमुख अतिथि रहेका शंकर पोखरेलले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । महासचिवपछि बोलेका ढकालले भने सहमति नभएर लोकतान्त्रिक प्रक्रियालाई रोक्न नहुने बताए ।

‘नेतृत्व निर्माणका सन्दर्भमा महासचिव शंकर पोखरेलले भने जस्तै सर्वसम्मत चयन गर्ने र सर्वसम्मति पनि प्रजातान्त्रिक अभ्यास हो’, उनेले भने, ‘सर्वसम्मतिले नभए के गर्ने त ? लोकतान्त्रिक प्रक्रियामा जानुपर्छ ।’ सर्वसम्मत नभए लोकतान्त्रिक विधिमा जानुपर्ने उनको भनाइ छ ।

ढकालले एमाले मोरङको हालै भएको अधिवेशनले देशैभर नयाँ सन्देश दिएको बताए । ‘एमाले मोरङको अधिवेशनको राष्ट्रव्यापी चर्चा पाएको छ । त्यो अधिवेशनले देशैभर अलग्गै सन्देश पनि दियो’, उनले भने, ‘प्रेस चौतारीको अधिवेशनले पनि फरक सन्देश दिन सक्नुपर्छ ।’

आफूलाई काठमाडौंमै एमालेनिकट पत्रकारहरूले विराटनगरमा गएपछि प्रक्रियामा जान पाइएला नि सोधेको पनि बताउँदै ढकालले अधिवेशनमा सर्वसम्मतीको नाममा लोकतान्त्रिक विरोध रोक्न खोजेको प्रति असन्तुष्टि जनाए । चौतारीको अध्यक्षमा पाण्डेसहित उपाध्यक्ष राजेश राई पनि अध्यक्षका दाबेदार छन् । तर, ओलीसहित नेतृत्वले महाअधिवेशन सुरु नहुँदै पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि राईसहितका प्रतिनिधिहरुले लोकतान्त्रिक बिधि अनुसार नेतृत्व छान्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

एमाले नेता ढकाललले राईसहित प्रतिनिधिहरुको माग अनुसार लोकतान्त्रिक विधिको पक्षमा मत राखेका हुन् । यसअघि एमाले मोरङको अधिवेशनमा पनि ओलीसहित नेताहरुले राजकुमार ओझालाई अध्यक्ष बनाउन निर्देशन दिएका थिए । तर, प्रतिस्पर्धामा ढकाल नेतृत्वको प्यानलले अध्यक्ष ओलीसहितका नेताको आशीर्वाद पाएको प्यानललाई पराजित गरेको थियो ।

प्रदेश अध्यक्षमा ओली टिमबाट पराजित ढकालले समर्थन गरेको टिमले जिल्लामा भने अध्यक्ष अजम्बर राईसहित पदाधिकारी र बहुमत जिल्ला सदस्य जितेको थियो ।

आइतबार, ०९ चैत, २०८१, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर