विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आज आइतबारबाट विराटनगरमा सुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने चौतारीले जनाएको छ । तर, चौतारीको नेतृत्वमा देखिएको विवादको कारण ओली आउने संभावना कम रहेको बताइएको छ ।
चौतारीको अध्यक्ष बन्न उपाध्यक्षहरु गणेश पाण्डे र राजेश राईले दावेदारी पेश गर्दै आएका छन् । एमाले अध्यक्ष ओलीले यसअघि चौतारीका उपाध्यक्ष रहेका राजेश राईलाई अध्यक्ष बनाउनेगरि पाण्डेलाई प्रचार विभागको सचिव बनाएका थिए ।
पाण्डेले भने आफू अध्यक्षबाट पछि नहट्ने भन्दै प्रचार विभागको सचिवबाट पनि राजीनामा दिइसकेका छन् । राई एमालेमा १० बुँदे पक्षधर हुन् । त्यहि भएर उनलाई अध्यक्ष बन्न नदिन बढेको लबिइङपछि ओलीले पाण्डेलाई नै अध्यक्ष बनाउन निर्देशन दिएको बताइएको छ ।
दुई जनालाई अध्यक्ष बनाउन फरक–फरक समयमा आश्वासन दिएको कारण चौतारीमा विवाद देखिन्छ । पार्टीका नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउँदै आएका छन् । तर, राईले भने लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्ने अडान राखेका छन् ।
चौतारीको नेतृत्व विवादमा आफैं फसेको कारण सम्मेलनको उद्घाटन गर्न ओली आउने संभावना नरहेको चौतारीका एक पदाधिकारीले बताएका छन् । अधिवेशनको उद्घाटन गर्न महासचिव शंकर पोखरेल आउने संभावना रहेको उनको भनाइ छ ।
महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि सहभागी हुने व्यवस्थापन समितिका संयोजकसमेत रहेका चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरु आउने क्रम जारी छ ।