विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी विजयी भएको छ । स्ववियु अध्यक्षको उम्मेदवार रहेका क्रान्तिकारीका कपिल विष्ट विजयी भएका हुन् ।
स्ववियु अध्यक्षको उम्मेदवार रहेका नेकपा एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । स्ववियुको सचिवमा भने अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन् ।
बेलबारी क्याम्पसमा अघिल्लो पटक नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको थियो । आन्तरिक विवादको कारण यस पटक भने नेविसंघले संगठन नै दर्ता गर्न सकेन ।
बेलबारी बहुमुखी क्याम्पसहित मोरङका ९ क्याम्पसमध्ये क्रान्तिकारीले ३ आंगिकसहित ६ वटामा जित निकालेको छ । क्रान्तिकारीले आंगिक क्याम्पसहरु महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङ क्याम्पस जितेको छ ।
अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पसमा जित निकाल्दा नेविसंघले लेटाङ क्याम्पस जितेको छ । उर्लाबारी र पथरी क्याम्पसमा भने सबैको सहमतिमा नेविसंघको अध्यक्ष निर्वाचित भएको थियो ।
कोशी प्रदेशका ५० क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन भएकोमा नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो र अखिल क्रान्तिकारी तेस्रो भएका छन् । नेविसंघले २५ वटा, अनेरास्ववियुले १५ र अखिल क्रान्तिकारीले १२ वटा क्याम्पस जितेको छ ।
प्रदेशकै सबैभन्दा ठूलो महेन्द्र मोरङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका थिए । स्नातकोत्तर क्याम्पस विराटनगरमा क्रान्तिकारीका प्रितम साहसहित प्यानल नै विजयी हुँदा नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया सभापतिमा निर्वाचित भए । नेविसंघ र अनेरास्ववियु मिलेको भोजपुर बहुमुखी क्याम्पसमा पनि क्रान्तिकारीकै सोबिन तामाङ विजयी बने ।
झापाको दमक बहुमुखी क्याम्पसमा बागी उठेर नेविसंघका स्वतन्त्र उम्मेद्वार भुपेन्द्र बस्नेत निर्वाचित भए । उनलाई अखिल क्रान्तिकारी र लिम्बुवान विद्यार्थी संगठनहरूले सहयोग गरेका थिए । अनेरास्ववियुका निशम अधिकारी भने पराजित बने ।
धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट उठेका नेविसंघका उम्मेदवार प्रशान राई विजयी बनेका छन् । धरानकै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेविसंघ–अनेरास्ववियुको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै क्रान्तिकारीको समर्थनमा स्वतन्त्र उम्मेदवार पेसलराज कार्की विजयी भए ।
मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका कपिल विष्ट निर्वाचित । योसँगै मोरङका स्ववियु निर्वाचन भएका ३ आंगिकसहित ९ क्याम्पसमध्ये क्रान्तिकारीले ३ आंगिकसहित ६ वटामा जित निकालेको छ ।