जनतालाई पूँजी बचाउने शिक्षा दिनुपर्छ : विप्लव

–जनताको गणतन्त्र बन्न नसक्दा असन्तुष्टि बढेको छ तर राजा फर्किने कुरा सम्भव छैन ।

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले ठूलो संघर्षबाट प्राप्त गणतन्त्र जनताको बन्न नसक्दा अहिलेको राजनीतिक समस्या देखिएको बताएका छन् ।

गणतन्त्र स्थापना भए पनि जनतामा अधिकार हस्तान्तरित नहुनु, संविधान नै विवादमा पर्नु, नेपालका उत्पीडित जात, समुदाय, किसान, मजदुरको प्रतिनिधित्व नहुनु आदि कारणले गर्दा जनता निरास बनेको उनले बताए ।

जनता निरास भएको बेला त्यसबाट लाभ लिन प्रतिगमनकारी शक्तिले प्रयास गरेको र राजनीतिमा त्यो स्वभाविक नै भएको उनले बताए । परम्परागत राजतन्त्रका पक्षधरहरुले यस्तो मौकामा शक्ति आर्जन गर्न सकिन्छ कि भनेर प्रयत्न गरेपनि त्यो सफल भने नहुने उनले बताए ।

महासचिव विप्लवले देशका ९० प्रतिशत जनता र उनीहरुलाई नेतृत्व गर्ने दलहरु अहिले पनि गणतन्त्रप्रति नै प्रतिवद्ध रहेकोले गणतन्त्र गइहाल्छ कि भनेर चिन्ताअ गर्नुपर्ने अवस्था नरहेको बताए । उनले अहिलेको विकल्प पुरानो राजतन्त्र होइन नयाँ समाजवाद भएको पनि बताए ।

उनले अहिलेको व्यवस्थामा परिवर्तन गरेर मात्र जनताको जीवनमा परिवर्तन गर्न सकिने पनि बताए । उनले जनताको जीवनमा परिवर्तन ल्याउने नीति, योजना र कार्यक्रम दलहरुले अगाडि बढाएर मुलुकलाई समाजवादी गणतन्त्रमा लैजानु पर्ने र त्यसो हुँदा जनताहरुको समस्या समाधान हुने बताए । उनले भने, ‘यो व्यवस्थाले चलेन, अस्थिर भयो, हरेक वर्ष हामीले आर्थिक बोझ थपिरहनु पर्ने र सरकार भने ढल्ने, बन्ने, स्थानीय सरकारलाई प्रभाव पर्ने, कर्मचारीहरु शान्त ढंगले काम गर्न नसक्ने, सुरक्षा प्रणालीमा बाधा पार्ने, सुरक्षा अधिकारी पनि शान्त ढंगले काम गर्न नपाउने, उद्योग क्षेत्र प्रभावित पर्ने अवस्था छ । यसले यो व्यवस्था चलेन भन्ने कुरामा एकमत देखिन्छ । तर, निकास के हो भन्ने कुरामा नेपाली समाज बहसमा छ । त्यही भित्र एउटा प्रवृत्ती पश्चगमनतिर या राजतन्त्र विकल्प हो भनेर आइरहेको देखिरहेका छौं ।’

महासचिव विप्लवले नेपाली जनताले पटक पटक गरेको आन्दोलनबाट सामन्तवादी उत्पादन सम्बन्ध भत्काए पनि दलाल पूँजीवादी अर्थसम्बन्ध कायम रहेको र जनताको ठूलो हिस्सा आज पनि रोजीरोटी चलाउन नसक्ने अवस्थामा रहेको बताए । कसैसँग पैसा राख्ने ठाउँ नहुने र कसैले एक छाक खान पनि समस्या हुने व्यवस्थाले जनताको हित नगर्ने उनको भनाइ थियो ।
जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जना गर्ने तर्फ सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै उनले जनतासँग श्रम गर्नुपर्छ भन्ने चेताना र श्रम गर्ने प्रतिबद्धता भएपनि पुँजी बनाउने चेतना नभएको बताए । ‘दिनरात श्रम गर्छ, उत्पादन गर्छ तर त्यसलाई पुँजीमा परिणत गर्ने कला जनताहरुसँग भएन, उत्पादनले आर्जन गर्छ भन्ने शिक्षा सरकाले दिन सकेको छैन त्यसो गर्न सकेकै दिन मुलुक उत्पादनको बाटोमा अघि बढ्छ, जनताले खान पाउन थाल्छन्,’ महासचिव विप्लवले भने ।नेता विप्लवले युवाहरुलाई देशमै बस्ने र उत्पादन गर्ने कार्यमा लगाउनु पर्ने भए पनि सरकारले अहिले पनि युवाहरुलाई विदेश जानका लागि प्रोत्साहन गरिरहेको बताए ।

आफ्नो पार्टी उत्पादन अभियानमा गएपछि आत्मनिर्भर बन्दै गएको पनि उनले सुनाए । आफ्नो पार्टीले दुई वर्षको छोटो अवधिमा धान, आलु आदि उत्पादनहरु सुरु गरेको, भेडा पालन गर्न थालेको, गार्मेन्ट उद्योग सञ्चालन गरेको, कर्णालीमा स्याउ खेती अभियान सुरु गरेको र त्यसबाट राम्रो आर्जन पनि भइरहेको बताए । उनले पार्टीलाई चन्दामुक्त बनाउने दावी पनि गरे । उनले भने, ‘अब हाम्रो पार्टीलाई हामी चन्दामुक्त बनाउँदैछौं, आधाउधि त घटिसक्यो यसलाई पूर्णरुपमा हटाइने छ र कार्यकर्ताहरु सबै उत्पादनमा सहभागी गराइने छ, यसले पार्टीलाई मात्र होइन देशलाई पनि फाइदा पुग्छ ।’

गणतन्त्र स्थापनापछि माओवादीहरुले कार्यकर्ताहरुलाई उत्पादनमा केन्द्रित गर्न सकेको भए मुलुक अर्कैं ठाउँमा पुग्ने समीक्षा गर्दै उनले यसमा माओवादीहरुबाटै धेरै गल्ती भएको बताए । उनले माओवादीका सबै घटकबाट कमजोरीहरु भएको र अब सबैले आत्मसमीक्षा गरेर सच्चिदै गल्ती स्वीकार गर्दै अगाडि बढ्नु सकारात्मक भएको पनि बताए ।

नेता विप्लवले अहिले समाजवादी मोर्चा मार्फत देशका सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले पहिले माओवादी घटक बिचमा एकता, त्यसपछि समाजवादी मोर्चामा एकता र पछि एउटै कम्युनिष्ट पार्टी बनाउने तर्फ आफूहरुले काम गरिरहेको पनि बताए । उनले अहिले गणतन्त्रविरोधी गतिविधि भइरहेको बेलामा मोर्चाले चैत १५ गते कार्यक्रम गरेर जनताका बिचमा आफ्ना धारणाहरु राख्ने तयारी गरेको बताए ।

शुक्रबार, ०७ चैत, २०८१, बिहानको ०९:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर