एमाले मोरङ विवाद : गल्यो संस्थापन पक्ष

विराटनगर । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको पहिलो बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको छ।
आज विराटनगरमा बसेको बैठकले ५ पदाधिकारी सहित २५ सदस्यीय स्थायी कमिटी गठन गरेको हो।

सचिालयमा रोशन प्रसाद ढकाल, बबिता खापुङ, राजन भण्डारी, राधेश्याम कट्टेल, पुनम कोइराला, मो. अजिम आलम, अग्नि भट्टराई, उमाकान्त गौतम, मिना खतिवडा पौडेल, दुर्गा बहादुर विष्ट, शक्र थापा, योगेन्द्र सुवेदी, सिता तामाङ, प्रज्ञानराज मगर, सुवास कुमार सरदार, श्याम प्रसाद मण्डल, शुकदेव प्रसाद यादव, वैजु विश्वास, भोला प्रसाद अधिकारी र दीपक कर्ण रहेका छन् । पदाधिकारीहरू भने स्वतः सचिवालयमा रहने पार्टीको विधानमा उल्लेख गरिएको छ।

यस्तै चैत्र मसान्तसम्ममा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय समेत एमालेले गरेको छ।सचिवालयका प्रस्तावित नामको विषयलाई लिएर बैठकमा संस्थापन पक्षका केही जिल्ला सदस्यले भने विरोध गरेका थिए। बैठकमा इतर समूहलाई पेल्ने रणनीति बनाएको संस्थापन पक्ष भने हलमा पुग्दा भने गलिसकेको एक नेताले बताए ।

‘हामीले मोरङका इन्चार्ज जीवन घिमिरेलाई राखेर नै सचिवालयमा राख्ने सदस्यहरुको नाम लागि तय गरेका थियौँ,’ एक नेताले भने,‘हिजो उहाँहरूले गर्नुभएको गुट भेला आज पानीको फोका जस्तै भयो। साथीहरु आतिनुभयो । हाम्रो पेल्ने रणनिति नै छैन । ’
जिल्ला अध्यक्ष अजम्बर राईको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई जनस्तरसम्म पुर्‍याउने र संगठनात्मक सुदृढीकरण गर्ने प्रस्तावहरू पारित गरेको छ।प्रायोजित मिथ्या प्रचार र साइबर हमलाको प्रतिवाद गर्ने निर्णय समेत आजको बैठकले गरेको छ। वडा र टोल तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा कम्युनिष्ट आचरणयुक्त कार्यकर्ता निर्माणमा जोड दिने समेत निर्णय गरेको छ। आत्मविश्वास जगाएर पार्टीलाई घर–घर पुर्‍याउने र जनतामा आशाको उज्यालो दियालो जगाउने निर्णय गरिएको एमालेले जनाएको छ।

कमिटीले चैत्र मसान्तसम्ममा पालिका कमिटी अधिवेशन सम्पन्न गर्ने, जनसंगठनको सम्मेलन गर्ने, पार्टी संगठित सदस्यता वृद्धि–विस्तार, नवीकरण र मातहत कमिटीको कार्यालय व्यवस्थापन गर्ने कार्ययोजना पारित गरेको छ।

बैठकले पार्टी र पार्टीको मूल नेतृत्वमाथि भइरहेको चौतर्फी हमलाुको घोर निन्दा गर्दै वर्गवैरीका हतकण्डालाई सघाउ पुग्ने गतिविधि नगर्न निर्देशन दिएको समेत जिल्ला कमिटी सचिव सोमराज थापाले बताए।साथै आन्तरिक बहस–विमर्श वा असन्तुष्टिका पक्षहरूलाई समन्वयात्मक सुधार योजनामार्फत समाधान गर्ने उपाय खोज्ने प्रतिबद्धता समेत बैठकले जनाएको थापाले बताए।

बिहिबार, ०६ चैत, २०८१, रातीको ०९:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर