सुकुना क्याम्पसमा ३३ वर्षदेखि वामपन्थीहरू कै नेतृत्व

विराटनगर । मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका एलिस ओझाले सभापति पदमा विजय हासिल गरेका छन्। ९८५ मत प्राप्त गरेका ओझाले नेविसंघका विजयी ओझालाई २९९ मतको अन्तरले पराजित गरेका हुन्।

एलिसका बुबा राजकुमार ओझा यही क्याम्पसमा तीन पटकसम्म स्ववियु सभापति भइसकेका थिए। राजकुमार ओझाले भने नेकपा (एमाले) मोरङको १०औं जिल्ला अधिवेशनमा पराजित भएका थिए।

‘बाबुले जिल्ला अध्यक्षमा जीत निकाल्न नसक्दा छोराले जीत निकालेका हुन्। सुन्दरहरैचाको अहिलेसम्मको जित व्यक्तिगत जीत मात्र नभई, वामपन्थी आन्दोलनको निरन्तरता पनि भएको नेकपा एमाले सुन्दरहरैचाका सचिव समेत रहेका अनेरास्ववियुका कोशी प्रदेशका सचिव सन्तोष घिमिरेले बताए ।

सुकुना क्याम्पसमा २०४८ देखि हालसम्म वामपन्थीहरूको प्रभुत्व रहँदै आएको छ। यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ, जेवी थुलुङ, भुपाल बस्नेत, बद्री अर्याल र सन्तोष लिम्बू जस्ता वामपन्थी नेताहरू यस क्याम्पसको सभापति पदमा निर्वाचित भइसकेका छन्।

यद्यपि नेविसंघले पराजय व्यहोर्नु परे पनि, यसपटक उनीहरूले अहिलेसम्मकै चुनावहरूमा सबैभन्दा बढी मत प्राप्त गरेको दाबी गरिएको छ। यसले आगामी निर्वाचनहरूमा प्रतिस्पर्धा अझ कडा हुन सक्ने संकेत गर्दछ।

वामगठबन्धनले सचिव पदमा पनि जीत हासिल गरेको छ, जहाँ नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका रोहन खत्री ९१९ मत प्राप्त गरी विजयी भएका छन्। तर अखिल क्रान्तिकारीले मोरङका अन्य चार क्याम्पसमा जीत हासिल गरे पनि सुकुनामा कोषाध्यक्ष पदमा पराजय व्यहोर्नु परेको छ। नेविसंघकी सविना थापाले ९२४ मत प्राप्त गरी अखिल क्रान्तिकारीका अनिष पौडेललाई पराजित गरेकी छिन्।

यो निर्वाचन परिणामले सुकुना क्याम्पसमा वामपन्थी आन्दोलनको निरन्तरता भएको नेताहरु बताउछन् ।

बुधबार, ०५ चैत, २०८१, दिउँसोको ०३:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर