एमाले मोरङका पदाधिकारीलाई पूर्वराष्ट्रपतिको फोन

विराटनगर । नेकपा एमाले मोरङका नवनिर्वाचित पदाधिकारीलाई पूर्वराष्ट्रपति विद्या भण्डारीले फोन गरेर निर्वाचित भएकोमा बधाइ दिएकी छन् ।विराटनगरबाट नै प्रष्टरूपमा राजनीतिमा आउने संकेत गरेकी भण्डारीले पदाधिकारीहरूलाई फोन गरेकी हुन् । निर्वाचित भएपछि फोन गरेर धन्यवाद दिँदै उनले राजनीतिक कुराकानी गरेको एक पदाधिकारीले जानकारी दिए ।

राष्ट्रिय राजनीतिका बारेमा फोनमा भण्डारीसँग कुराकानी भएको उनको भनाइ थियो । ‘तपाईंहरूले एमालेभित्र ओलीको मात्रै पनि केही चल्दैन भन्ने सन्देश दिनुभएको छ,’ पूर्वराष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘मोरङले दिएको सन्देश अन्य जिल्लामा पनि अब अगाडि बढ्छ ।’ उनले केपी ओलीले सर्वसम्मत नेतृत्व हस्तान्तरण गरून् भन्ने चाहना रहेको बताउने गरेकी छन् । भण्डारीले विराटनगरमा बसेका बेला पनि आफू निकटका नेताहरूसँग त्यस्तै भनेकी थिइन् । फोन संवादमासमेत त्यस्तै कुरा गरेको उनले बताए ।

‘राम्रो काम गर्नुहोस् । तपाईंहरूलाई नराम्रो काम गर्ने छुट छैन । तपाईंहरूले राम्रो सन्देश दिनुभएको छ, संयममा भएर सबैलाई मिलाएर लैजानु होला,’ भण्डारीको भनाइ उद्धृत गर्दै अर्का पदाधिकारीले भने ।

अध्यक्ष ओलीले भने केही दिन अगाडि मोरङमै आएको बेला उनको स्वागतमा गएका पदाधिकारीहरूलाई बधाई दिएका थिए । ओलीले गत फागुन २७ गते मोरङकै दुई वटा कार्यक्रममा सहभागिता जनाएका थिए ।

दिक्षान्त समारोहमा पूर्वाचल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउमा स्वागतका लागि गएका पदाधिकारीलाई अध्यक्ष ओलीले त्यहिं बधाई ज्ञापन गरेका थिए । एमाले मोरङका उपाध्यक्ष सागर थापाले भने ‘अध्यक्षले हामीलाई बधाइ छ साथीहरुलाई भनेर भन्नुभयो ।’ त्यहाँ केन्द्रीय सदस्य विनोद ढकालले नवनिर्वाचित पदाधिकारीहरूलाई अध्यक्ष ओलीसँग चिनजान गराएका थिए ।

महासचिव शंकर पोखरेलले भने फोनबाट नै बधाई दिएका थिए । स्रोतका अनुसार भण्डारीले नेकपा एमाले मोरङका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका पदाधिकारीहरूलाई बधाई दिएकी हुन् ।

प्रदेश अधिवेशनमा केन्द्रको निर्देशन विपरीत अध्यक्षमा ढकालले उम्मेदवारी दिएपछि अध्यक्ष ओली रुष्ट बनेका थिए । २०८० असोजमा भएको प्रदेश कमिटीको निर्वाचनमा ढकालले उम्मेदवारी दिएका थिए ।

जिल्ला अधिवेशनमा पनि मिलाएर नेतृत्व चयन गर्न नेताहरूले कसरत गरेका थिए । तर एमालेकै पदाधिकारीले इतर समूहसँग कुनै छलफल नगर्ने अडान राखेपछि उनीहरू चुनावमा होमिएका थिए । अन्ततः इतर समूहले बहुमत सदस्यसहित पदाधिकारीमा बाजी मारेको थियो । महासचिव पोख्रेलले केन्द्रले उठाएका उम्मेदवार बाहेक अरुसँग गफ नगर्ने भनेपछि सर्वसम्मत नेतृत्व चयन गर्ने छलफल अगाडि बढ्न सकेको थिएन ।

मोरङमा भण्डारी समूहले हात पारेको जीतलाई कार्यकर्ताहरूले विद्रोहको जीत र नेतृत्वको गालामा झापडको संज्ञा दिएका छन् ।
मोरङमा भएको अधिवेशनले अजम्बर राईको समूहले पदाधिकारीमा ‘क्लिन स्विप’ गरेको थियो । राईले ४४६ मत ल्याएर जित निकाल्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षका (अध्यक्ष केपी शर्मा ओली पक्षका) राजकुमार ओझाले ४०७ मत ल्याएका थिए ।
निर्वाचित भएपछि आएको फोन र दिएका प्रतिक्रियाहरु सुन्दा एमाले अध्यक्ष केपी ओलीसँग धेरै असन्तुट कार्यकर्ताहरुको पङ्ति ठूलो देखिएको उनीहरुले बताए । ‘धेरै नेताको फोन आयो,’ ती पदाधिकारीले भने ‘अब नेतृत्वले नसोचे दुर्घटना हुनसक्छ ।’

सोमबार, ०३ चैत, २०८१, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर