विराटनगर । मंगलबार कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओली अन्य समयभन्दा फरक रुपमा प्रस्तुत भए । आफ्ना हरेक भाषणमा विपक्षीप्रति तिखो आलोचना र गागलीगलौज गर्ने प्रधानमन्त्रीले प्रदेशसभाको करिब सवा घण्टाको सम्बोधनमा शालीन ढंगले प्रस्तुत भए ।
प्नधानमन्त्रिले प्रदेशसभामा आएर आफ्नो स्वभावअनुसार विपक्षी दल र आलोचकप्रति अराजनीतिक गालीगलौज गर्ने आशंकामा विपक्षी दलहरुले उनको सम्बोधन नै बहिष्कार गर्ने चेतावनी दिएका थिए । प्रतिनिधिसभाको बैठकमा नजाने प्रधानमन्त्रीको प्रदेशसभामा आएर गालीगलौज नसुन्ने भन्दै विपक्षी दलले बैठकमा नजाने चेतावनी दिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहजीकरण गरेका थिए ।
मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीले गालीगलौज नगर्ने भन्दै बैठकमा सहभागी हुन आग्रह गरेका थिए । उनले फोनबाट एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईलाई र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोलाई भेटेरै बैठकमा सहभागी हुन आग्रह गरेका थिए । प्रधानमन्त्रीको सम्बोधन मिति तय हुनुअगाडि सल्लाह गर्न नपाएकोमा मुख्यमन्त्रीले कमजोरी स्वीकार गरेपछि विपक्षी दलहरु बैठकमा सहभागी भएका थिए । तर, उनीहरुले प्रधानमन्त्री अमर्यादित रुपमा प्रस्तुत भएमा उठेर हिँड्ने चेतावनी दिएका थिए ।
विपक्षी दलहरुको आशंकाबीच प्रधानमन्त्रीको सम्बोधन भने फरक थियो । उनले कोशी प्रदेशको भुगोल, कोशी नदि, यस क्षेत्रका हिमाल र धार्मिक विषममा लामो भाषण दिए । उनले प्रदेशको भौगोलिक, ऐतिहासिक, धार्मिक इतिहासका साथै जातीय अन्तरघुलन र यसको महत्वबारे लामो ब्याख्या गरे । कृषि, पर्यटन विकास, श्रम, रोजगारी, जलवायु परिवर्तनको असर हिमाल तथा हिमनदीको पर्यावरणीय महत्वका बारेमा उनको भाषण प्रवचन जस्तै थियो ।
उनले विपक्षी दलहरुलाई कुनै गालीगलौज गरेनन् । पछिल्लो समयमा राजावादीको गतिबिधिप्रति तिखो सुनिएका प्रधानमन्त्रीले प्रदेशसभामा उनीहरुको पनि भद्र आलोचना गरे । मुलुक पछि फर्कन नसक्ने भन्दै उनले यसबीचमा केही भएन भन्ने गलत भाष्य खडा गरिएको दावी गरे ।
नागरिक सर्वोच्चता भएको प्रणाली भएको भन्दै ओलीले दुईपटकको संविधानसभाले जनतामा शक्ति रहेको संविधान बनाएको र यसलाई दुईतिहाइले संशोधन गर्नसक्ने स्पष्ट पारे । व्यवस्थाविरुद्ध पनि आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो भन्ने प्रश्न गरेका थिए ।
राम्रो प्रणालीका लागि सरकार तयार रहेको बताउँदै उनले लोकतान्त्रिक प्रणालीको बाटोबाट नै अघि बढ्ने बताए । अहिले शान्ति र एकता चाहिएको बताउदै ओलीले विविधतायुक्त देश भएकोले यसमा एकता हुनुपर्ने र यही नै सम्पन्नता भएको उनको भनाइ थियो । “यति सानो देश यति विविधतायुक्त छ । यसमा एकता पनि छ । पहिले विभेद थिए ।
राजनीतिक प्रणालीले नै विभेद हुर्काएको थियो । अहिले हामी त्यो प्रणालीमा छैनौँ । जनतन्त्रमा छौँ” उनले दाबी गरे । यो प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको दावी गरे । आफू सबैको कुरा सुन्न र छलफल गर्न तयार रहेको बताउँदै उनले कोशी प्रदेशको उन्नतिमा आफू सधैँ क्रियाशील रहने उल्लेख गरे ।