आज प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन :बहिष्कार गर्ने प्रतिपक्षीको चेतावनी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभामा गर्ने सम्बोधन बहिष्कार गर्ने चेतावनी प्रतिपक्षी दलहरुले दिएका छन् ।

संसदमा प्रतिपक्षी दलले उठाएको आवाज सरकारले नसुनेको र प्रधानमन्त्री ओलीले विपक्षीलाई छुद्र, असभ्य र अमर्यादित गालीगलौज गर्ने संभावना रहेको भन्दै प्रतिपक्षी दलहरुले सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

विपक्षी दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संवाद थालेका छन् । विपक्षी दलहरुले यथास्थितिमा प्रदेशसभामा नजाने भन्दै प्रतिपक्षी दल र संसदलाई सरकारले हेपाहा व्यवहार देखाएकोले प्रधानमन्त्रीको भाषण मात्र सुन्नुको अर्थ नहुने बताएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रतिपक्षीलाई बेवास्ता गर्यो भने विरोध स्वरुप नजाने संभावना रहेको बताएका छन् । प्रधानमन्त्रीको सम्बोधनको बारेमा सरकार र संसदले पनि आफूहरुसँग कुनै छलफल नगरेको भन्दै उनले त्यसको औचित्यबारे पूर्वजानकारी हुनुपर्ने बताए ।

प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्ने विषय औपचारिक रुपमा विपक्षी दललाई अहिलेसम्म थाहा नभएको आङ्बोको भनाइ छ । ‘विपक्षी बोल्दा मुख्यमन्त्री आफैं उपस्थित नहुने, विपक्षीले बोलेका कुराको सम्बोधन र जवाफ पनि नआउने अवस्था छ’ उनले भने, ‘त्यसकारण उहाँले कसलाई ल्याएर के सम्बोधन गराउनु हुन्छ ? हामी लुरुलुरु जानलाई सरकारको कारिन्दा हो र ?’
यसअघि प्रदेशसभामा विपक्षी दलका नेता आङ्बोले बोल्दा मुख्यमन्त्री कार्की अनुपस्थित थिए । त्यसबारे आङ्बोले असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्रीले संसदमा जभावाभी बोल्ने गरको भन्दै आङ्बोले त्यसो भएमा नियमापत्ती गर्नुपर्ने र बहिष्कार गर्नुपर्ने अवस्था आउनसक्ने भएकोले सरकार स्पष्ट हुनुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) दलका नेता राजेन्द्रकुमार राईले प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिकको टकरावपूर्ण अवस्थालाई प्रदेशसभामा आएर आरोप र प्रत्यारोप गरे विरोध हुने भन्दै सरकार जिम्मेवार नभएको बताए । प्रधानमन्त्रीको सम्बोधन अगाडि सभामुख र मुख्यमन्त्रीले सबै दलको नेताहरुलाई बोलाएर छलफल गरेर जानकारी दिनुपर्नेमा बेवास्ता गरेर अपरिपक्वता देखाएको उनले बताए ।

प्रधानमन्त्रीले कुरा राख्दा शिष्ट, मर्यादित र संस्कार युक्त कुरा राख्नुपर्ने भन्दै राईले चेतावनी दिए, ‘अनावश्यक छेडखानी हुने र अमर्यादित कुराहरु गर्ने भयो भने ठिक हुँदैन ।’ मुख्यमन्त्री कार्कीसँग त्यसबारे आफ्नो कुराकानी भएको बताउँदै उनले मुख्यमन्त्रीले विपक्षीको सरोकार प्रधानमन्त्रीसम्म पुर्याउने प्रतिबद्धता जनाएको जानकारी दिए ।

मङ्गलबार, २७ फागुन, २०८१, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर