एमाले मोरङको १० औं अधिवेशन :निर्वाचन परिणामले संस्थापन पक्षमा खैलाबैला

विराटनगर । एमाले मोरङको दशौं अधिवेशनबाट आएको निर्वाचन परिणामले संस्थापन पक्षमा खैलाबैला मच्चिएको छ । एमालेमा पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीको बोली नै पार्टीको निर्णय र ओली नै पार्टी भनेजस्तो अवस्था बन्दै गएकोमा मोरङका नेता विनोद ढकालले ओलीलाई जिल्ला अधिवेशनमार्फत धक्का दिएका छन् ।

एमालेमा अध्यक्ष ओलीको विरुद्ध कार्यकर्ताहरुमा उकुसमुकुस रहेको चर्चा भएपनि ओलीको निर्णयविरुद्ध उभिने हिम्मत पछिल्लो समयमा कसैले गरेका थिएनन् । ओलीको निर्णयको विरुद्ध उभिएका भीम रावल, विन्दा पाण्डे, उषाकिरण तिम्सिना र विमल कार्कीहरुमाथि कार्वाही भएपछि त झन् एमाले पंक्तिमा सन्नाटा नै थियो ।

अध्यक्ष ओलीको एकलौटी पार्टी सञ्चालन गर्ने पद्दति, आलोचना सुन्न नचाहने र आफ्नो वरिपरी परिक्रमा गर्नेलाई मात्र संरक्षण गर्ने कार्यशैलीको जवाफा मोरङबाट कार्यकर्ताले दिएको चर्चा भइरहेको छ । मोरङको एमाले जिल्ला अधिवेशनको परिणामलाई एमालेमा ओलीविरुद्ध सुरु भएको विद्रोहको संकेतको रुपमा पनि ब्याख्या भइरहेको छ ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले एमाले मोरङको अधिवेशनले विभिन्न संकेत गरेको बताएका छन् । ‘यसले अध्यक्ष ओलीको अलोकप्रियताको संकेत गर्यो । ओलीको पार्टीभित्रको हैकमवादको अन्त्यको सुरुवात पनि गर्यो,’ संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘एमालेभित्र स्वतन्त्र ढंगले पनि कार्यकर्ताले सोच्न थालेछन् । पार्टीभित्र लादिएको हैकमवादलाई अस्वीकार गर्छन् भन्ने देखायो ।’

त्यसो त एमाले मोरङमा अध्यक्ष केपी ओलीसहित स्थायी समितिका नेतााहरुले नचाहको नेतृत्व निर्वाचित हुनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको भूमिका रहेको विश्लेषण पनि भइरहेको छ । पछिल्लो समयमा एमाले राजनीतिमा आउन खोजिरहेकी उनले करिब एक महिना अगाडि विराटनगर आएर एक साता गरेको राजनीतिक भेटघाटको परिणाम जिल्ला अधिवेशनमा देखिएको छ ।
शुक्रबार साँझ सकिएको एमाले मोरङको निर्वाचनमा अध्यक्षसहित पाँचै जना पदाधिकारी अध्यक्ष केपी ओलीइतर पक्षले जितेको छ । भण्डारीको समर्थन पाएको र मोरङका एमाले नेता विनोद ढकालले अगुवाइ गरेको टिमले पदाधिकारीमा ओलीले अगाडि सारेको टिमलाई क्लिनस्वीप गरेको हो ।

अधिवेशनबाट अध्यक्ष अजम्बर राईले ४४६ मत पाउँदै जित निकाल्दा ओलीले अगाडि सारेका राजकुमार ओझाले ४०७ मत मात्र पाए । उपाध्यक्षमा पनि ढकाल पक्षका सागर थापा निर्वाचित भए । उन ४२२ मत पाउँदा संस्थापनकी शान्ति लिम्बूले ३९१ मत पाएकी छन् ।सचिवमा ढकाल पक्षका सोमराज थापा विजयी भए । उनले ४६२ मत पाए भने संस्थापन पक्षका रविन थापाले ३६८ मत पाएका छन् । उपसचिवमा सन्तोष वान्तावा ४९० मत पाएर विजयी भएका छन् भने संस्थापनका इरजालाल राजवंशीले ३११ मत पाए । उपसचिवमा उषा झा ४१८ मतसहित विजयी बन्दा संस्थापनकी शिल्पा कार्कीले ४०५ मत पाएकी छन् ।

निर्वाचन परिणामले एमाले मोरङले अध्यक्ष केपी शर्मा ओलीकै विरुद्धमा विद्रोह बोलेको देखिएको छ । एमाले मोरङको नेतृत्वमा ओझासहितको टिम जिताउन ओलीको निर्देशन थियो भने उपाध्यष गुरु बराल, प्रदेश इञ्चार्ज शेरधन राई, स्थायी समिति सदस्यहरु भानुभक्त ढकाल, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङ इञ्चार्ज जीवन घिमिरे, ऋषिकेश पोखरेलसहितका नेताहरु खटिएका थिए ।

उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष ओलीको सन्देश भन्दै उपाध्यक्ष रामबहादुर थापा ’बादल’ ले ‘गुटबन्दी सह्य नहुने’ भन्दै सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । नेताहरूलाई उनले पनि ओझालाई अध्यक्ष बनाउन भनेका थिए ।
ओझालाई सर्वसम्मत बनाउन ओलीको निर्देशन कार्यान्वयन गर्न प्रयास गरेका उनीहरुले त्यससमा सफलता नपाएपछि चुनाबमा उनलाई जिताउन प्रयास गरेका थिए । अध्यक्ष खतिवडाले राई नेतृत्वको समूहलाई ‘पार्टीको नीति र नेतृत्वको निर्देशन नमान्ने अराजक समूह’ भनेका थिए । ओझा समूहले चुनाबमा आफू आधिकारिक र संस्थापन पक्ष भएको भन्दै चिट नै वितरण गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ताको दुरुपयोग गर्दै कहिले मुख्यमन्त्री कार्यालयमा बोलाएर त कहिले निवासमा बोलाएर प्रतिनिधिहरूलाई प्रभावित पार्ने कोशिष गरेको आरोप पनि लाग्यो । निर्वाचन समितिका मानिसहरुलाई बिग होटलमा राखेर इतर पक्षलाई कसरी हराउने भनेर प्रशिक्षण दिएको र सांसदहरुलाई सरकार फेरबदल हुँदा मन्त्री बनाउनेसम्मका आश्वासन दिएको चर्चा चल्यो ।

अधिवेशन सुरु हुनु अगाडि नै भूगोल र जनवर्गीय संगठनबाट आउने प्रतिनिधिमा ढकाल पक्ष हाबी भएको देखिएको थियो । त्यसपछि संस्थापन पक्षले एकलौटी ४६ जनालाई प्रतिनिधि मनोनित गर्यो । जिल्ला कमिटिमा सामान्य छलफल पनि नगरी प्रतिनिधि मनोनित गरेको भन्दै बन्दसत्रमा होहल्ला भएको थियो । तर, नेताहरु सबै एकातिर भएकोले त्यसलाई सच्याउने माग सम्बोधन भएन ।

विपक्षमा लागेका प्रतिनिधिहरुलाई भेटेर ८४ मा सांसद, पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यको टिकट दिने बाचा गरियो । निर्वाचित सांसद र पालिकाका जनप्रतिनिधिलाई सरकारी कोषबाट चाहेको ठाउँमा बजेट व्यवस्थापन गरिदिने आश्वासन दिइयो । बाँकी प्रतिनिधिलाई पार्टीका विभिन्न पदमा र सरकारी नियुक्तिमा एड्जस्ट गर्ने भनियो । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा सत्ता र शक्तिको चरम दुरुपयोग भयो ।

सहमतिको नाममा अधिवेशनको समयावधि लम्ब्याउन खोजेको र मतदानदेखि मतगणना हुँदासम्म सत्ता शक्तिको दुरुपयोग भएको भन्दै ढकाल पक्षले आपत्ती जनाएको थियो । तर, परिणाम उनकै पक्षमा आयो । राईको जीतमा ढकाल नायक बने ।
कोशी प्रदेशको अधिवेशनको बेलामा आफूलाई गरिएको घेराबन्दीदेखि तत्कालिन विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालगायतलाई गरिएको ‘अन्यायपूर्ण’ कारबाहीको मोरङका एमाले कार्यकर्ताहरुले प्रतिवाद गरेको नेता ढकालले बताएका छन् । २०८० असोजमा भएको प्रदेश कमिटीको निर्वाचनमा पनि ओली पक्षले अध्यक्षका उम्मेदवार ढकालविरुद्ध त्यसरी नै प्रस्तुत भएको थियो ।

सो निर्वाचनमा ढकाल पराजित भएपछि जिल्लामा उनी पक्षधरमाथि कार्वाहीको डण्डा चलाउन सुरु भएको थियो । जिल्लामा ढकाल पक्ष बलियो हुने देखेर अधिवेशन नै लामो समय होल्ड गर्दै विराटनगर महानगरका अध्यक्ष सागर थापासहितलाई कार्वाही गरिएको थियो । ढकालको पक्षमा लाग्नेहरुको राजनीति समाप्त पार्ने प्रत्यक्ष र अप्रत्यक्ष धम्की कार्यकर्तालाई संस्थापन पक्षले दिने गरेको थियो । तर, त्यो सबैको जवाफ अधिवेशनमा कार्यकर्ताले ढकाल पक्षलाई जिताएर दिए ।

कुनैबेला एमालेका तत्कालिन महासचिव (अध्यक्ष) माधवकुमार नेपाल समूहको पार्टीमा वर्चस्व रहेका बेला पनि मोरङ र काभ्रेमा केपी शर्मा ओलीको नेतृत्व थियो । मोरङमा विनोद ढकाल र काभ्रेमा गोकुल बास्कोटा नेतृत्वमा थिए । तर, अहिले ढकाल र बाँस्कोटा दुबै ओलीबाट टाढिएको चर्चा छ । उनीहरुले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा ल्याउन कसरत गरिरहेको बताइन्छ ।
ढकालले त्यसबेला र अहिले पनि मोरङमा आफ्नो शक्ति कायम रहेको देखाएका छन् । जिल्ला अधिवेशनमा ओली समूहले संस्थापन पक्ष भनेर गरेको प्रचारलाई लक्षित गर्दै ढकालले मतदानकै क्रममा भनेका थिए, ‘मोरङमा संस्थापन भनेको विनोद ढकाल नै हो । टिका लगाएर को आउँछ जान्छ । तर, एमालेका आम कार्यकर्ताले विनोद ढकाल जहाँ उभियो त्यही संस्थापन मान्छ ।’ अधिवेशनको परिणामले त्यो प्रमाणित भएको छ ।

ओलीसँग भिडेर आफ्नो शक्ति देखाएका ढकाल सार्वजनिक रुपमा भने आफू ओलीकै पक्षमा रहेको बताउँछन् । आन्तरिक छलफलमा ओलीको औचित्य सकिएको बताउने उनी सार्वजनिक रुपमा भने ‘अध्यक्षको नाम लिएर तलका केहि व्यक्तिले मनपरी गर्न खोजेको’ दावी गर्छन् । ‘जिल्ला अधिवेशनमा जबजकै मार्गनिर्देशन अनुसार लोकतान्त्रिक प्रतिस्पर्धा भएको हो’ उनले भने, ‘यहाँ कुनै कित्ता काट हुन जरुरी छैन ।’

नवौं महाधिवेशनपछिको अवधिमा नेताहरुले गरेको गलत क्रियाकलापको जवाफ कार्यकर्ताले दिएको ढकालको भनाइ छ । ‘नेता कसले छान्ने, कार्यकर्ताले कि नेताले ? नेतालाई कार्यकर्ताले छान्नुपर्छ भन्ने मान्यताले जितेको छ,’ उनले भने, ‘नवौं अधिवेशन यताको अहिलेसम्मको अवधिमा एमाले मोरङमा विभिन्न प्रश्न उठेका छन् । कार्यकर्तालाई विभेद भयो, अन्याय भयो । यो सबै कुराको एकमुष्ट जवाफ कार्यकर्ताले निर्वाचनमार्फत दिए ।’चुनावी परिणाम पछि ‘संस्थापन पक्ष’ भने प्रतिक्रियाबिहीन जस्तै बनेको छ । एमाले मोरङको यो अधिवेशनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अलोकप्रियताको ग्राफ बाह्य रुपमा मात्रै होइन आफ्नै पार्टी भित्र पनि बढ्दै गएको सन्देश पनि प्रवाहित गरेको छ ।

अध्यक्षमा निर्वाचित अध्यक्ष अजम्बर राईले अब पार्टीलाई एक ढिक्का बनाउँदै छरिएर रहेका एमाले कार्यकर्तालाई एकत्रित अघि बढ्ने बताएका छन् । उनले पार्टीलाई विधि र नीतिको आधारमा चलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको श्रेष्ठले बताए ।

आइतबार, २५ फागुन, २०८१, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर