विराटनगर । एमाले मोरङको दशौं अधिवेशनबाट आएको निर्वाचन सकिएको छ । एमाले मोरङको उपाध्यक्षमा आफैंलाई कार्वाही सिफारिस गर्ने शान्ति भुजेल लिम्बूलाई सागर थापाले पराजित गरको छन् ।
गएको जेठमा मानगढ खानेपानीको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै पार्टीका तत्कालीन विराटनगर महानगर अध्यक्ष थापामाथि छानविन गर्न एमालेले पाटीएको उपाध्यक्ष रहेकी लिम्बूको संयोजकत्वमा समिति बनाएको थियो ।
लिम्बूको समितिले नेताहरुले चाहे अनुसारको प्रतिवेदन दिएपछि जिल्ला कमिटिले थापाको नगर अध्यक्षको जिम्मेवारी मात्र नभएर पार्टी सदस्यता नै निलम्बनको निर्णय गरेको थियो । पछि प्रदेश कमिटिले पनि जिल्लाको निर्णय सदर गर्दै थापाको पार्टी सदस्यता भने फुकुवा गरेको थियो ।
एमालेको दशौं अधिवेशनबाट भने उनै थापाले आफूलाई कारबाही गर्ने लिम्बूलाई उपाध्यक्षमा पराजित गरेका छन् । थापाले ४२२ मत पाउँदा लिम्बूले ३९१ मत पाएकी थिइन् । थापालाई जसले कार्वाही गरेका थिए ती सबै नेताहरुको अधिवेशनमा पनि लिम्बूलाई नै समर्थन थियो ।
थापालाई विनोद ढकालको समर्थन थियो भने लिम्बूलाई एमाले अध्यक्ष केपी ओलीसहित प्रदेशमा रहेका पार्टीका पदाधिकारी र सबै स्थायी समितिका सदस्यहरुको समर्थन थियो । थापालाई कार्वाही गर्ने समितिमा पार्टीका तत्कालिन सचिव रविन थापा पनि सदस्य थिए । उनी पनि अधिवेशनबाट पराजित भएका छन् । तत्कालीन उपसचिव सोमराज थापाले सचिवमा ४६२ मत प्राप्त गर्दा बहालवाला सचिव रविन थापाले ३६८ मत मात्र प्राप्त गरे ।
थापामाथि त्यसबेला मानगढ खानेपानी आयोजनाको निर्वाचनलाई बहाना बनाइएको भएपनि विनोद ढकालको शक्ति कमजोर बनाउने र जिल्ला अधिवेशनमा उनको पक्षलाई जित्न नदिने रणनीति थियो । खानेपानी आयोजनामा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर घिमिरेलाई सहयोग नगरेको भन्दै थापासहित महानगर कमिटिका उपसचिव नवराज नेपाल र विराटनगर ३ का अध्यक्ष लालमणि भट्टराईमाथि कार्वाही भएको थियो । खानेपानीको निर्वाचनमा भट्टराईलाई थापाले समर्थन गरेका थिए ।
पार्टी प्रदेश कमिटिको बैठकले तीनै जनालाई पदमुक्त गर्ने जिल्लाको निर्णय अनुमोदन गर्दै थापालाई २ महिना, नेपाललाई ४ महिना र भट्टराई ६ महिना पार्टीको सदस्यबाट निलम्बन गरेको थियो । निलम्बनको अबधि गुजारेपछि थापा पार्टी काममा सक्रिय भएका थिए । अहिले उनै थापालाई कार्यकर्ताले पुरस्कृत गरको हुन् ।
उपाध्यक्षमा विजयी बनेका थापाले कार्यकर्तालाई पेल्ने, अनावश्यक गुटबन्दी गर्ने नेताहरूलाई कार्यकर्ताले नै सबक सिकाएको प्रतिक्रिया दिएका छन् । ‘यो लडाई पार्टी बिगार्ने र सपार्ने बीचको लडाई पनि हो । अब हामी पार्टी निर्माणमा लाग्छौं’ उनले भने ।
आफूमाथिमाथि गरेको कारबाही व्यक्तिगत र केहि नेताहरुको इगोको कारण गरिएको भन्दै थापाले सिंगो पार्टी कमिटीमा अहिले हेपिएका र अन्यायमा परेकाहरुले जितेको दावी गरेका छन् ।