विराटनगर । नयाँ नेतृत्व छान्नका लागि नेकपा एमाले मोरङमा बुधवार भएको चुनावको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ।
४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँच जना पदाधिकारीमा नेता विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता कायमै छ अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म २२५ मत ल्याएका छन्। उता अध्यक्ष केपी शर्मा ओलीसहितको साथ पाएका राजकुमार ओझा २०२ मतसहित पछ्याउँदै छन्।
उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले २२८ मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले १८२ मत ल्याएकी छन्।
उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले २३० मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले १८० मत पाएका छन्।
उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले २३९ मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी १६३ मत पाएका छन्।
अर्कातिर महिला सहसचिवमा भने झिनो मतान्तर छ । संस्थापन पक्षीय शिल्पा निराला कार्कीले २०४ मत पाएकी छन भने ढकाल पक्षकी उषा झाले २०७ मत पाएकी छन्।
अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। आधा भन्दा बढी मत गणना हुँदा विद्रोही समूहको प्यानलले अग्रता कायम राखेको देखिन्छ।