एमाले मोरङको नेतृत्वको लागि भएको निर्वाचनको मतगणना सुरु

विराटनगर । नेकपा एमाले मोरङको नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना सुरु भएको छ । एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनको बुधबार भएको निर्वाचनको मतगणना सुरु भएको हो ।

विराटनगर पाञ्चालीस्थित पार्टी कार्यालयमा मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक सुरेशलाल श्रेष्ठले जानकारी दिए । एमाले मोरङको अध्यक्षमा केपी ओलीसहित नेतााहरुको समर्थन पाएका राजकुमार ओझा र एमालेका सल्लाहकार रहेका विनोद ढकालको समर्थन पाएका अजम्बर राईको नेतृत्वमा सोमबार छुट्टाछुट्टै प्यानल चुनाबी मैदानमा छन् ।

पदाधिकारी र सदस्यहरूको एकैपटक मतगणना शुरू गरिएको छ ।निर्वाचनबाट पाँच पदाधिकारीसहित १६५ जना निर्वाचित हुने छन् । ७१ जना निर्विरोध निर्वाचित भइकेका छन् । बाँकी ९४ पदका लागि १९१ जना चुनावी मैदानमा रहेका छन् ।

अधिवेशनको आइतबार नै निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका थियो । नेतृत्वले सहमतिमा ओझालाई अध्यक्ष बनाउन दबाब बढाउँदै निर्वाचन प्रक्रिया धकेलेको थियो । निर्वाचनमा गएमा राई नेतृत्वको टिमले जित हात पार्ने संभावना देखिएपनि नेताहरुले ओझाको नेतृत्वमा सहमति खोज्न दबाब बढाएका थिए । तर, सहमति जुट्ने अवस्था नभएपछि बुधबार निर्वाचन भएको हो ।

निर्वाचनमा प्यानल नबनाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अध्यक्ष केपी ओलीसहितका नेताहरुले नै दबाब दिएका थिए । अधिवेशन उद्घाटनमा बोल्ने उपाध्यक्ष रामबहादुर थापासहितका नेताहरुले ‘गुटबन्दी सह्य नहुने’ भन्दै सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, ओलीसहित नेताहरुको समर्थन पाएका ओझाले आफैं संस्थापन पक्षको टिम भनेर निर्वाचनमा चिर्कटो वितरण गरेका थिए ।

ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशी उम्मेदवार छन् । राईको टिमबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा उम्मेदवार छन् । निर्वाचनमा ९११ मतदाता रहेकोमा ८८८ मत खसेको बताइएको छ ।

बिहिबार, २२ फागुन, २०८१, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर