विराटनगर । सामन्तवादविरुद्ध सुरु भएको झापा विद्रोहमा सहभागी हुँदा २०२९ साल फागुन २१ गते तत्कालीन पंचायती सरकारका सुरक्षाकर्मीबाट हत्या गरिएका पाँच सहिदहरुलाई सम्झिँदा कम्युनिष्ट घटकहरु नै विभाजित बनेका छन् ।
झापा आन्दोलनको नाममा झापाबाट सशस्त्र आन्दोलनको विरासत बोकेको नेकपा एमाले र नेकपा एकीकृत समाजवादी र झापा विद्रोहलाई सैद्धान्तिक रुपमा स्वीकार गरेर पछि जनयुद्ध नै गरेको नेकपा माओवादी केन्द्रले बुधबार सुखानीमा छुट्टाछुट्टै श्रद्धाञ्जलि सभा गरेर सहिदहरुलाई सम्झिए ।
देशका लागि सहिदहरुले गरेको जीवन बलिदानीलाई सम्झँदा पनि एउटै आस्था र मान्यतामा विश्वास राख्ने कम्युनिष्ट घटकहरु विभाजित भएको दृश्यले वामपन्थी विचार राख्नेहरुले असजिलो महशुस गरेका छन् ।समाजवादी मोर्चामा आवद्ध तीन कम्युनिस्ट घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बिहान ८ बजे श्रद्धाञ्जलि सभा आयोजना गरेर सुखानीका सहिदहरुलाई स्मरण गरे । मोर्चाको सभा सकिएपछि नेकपा एमालेले छुट्टै श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो । एमालेका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद बरालको उपस्थितिमा उक्त सभा आयोजना भएको थियो ।
बिहान आयोजना गरिएको सभामा समाजवादी मोर्चाले पञ्चायतविरोधी आन्दोलनका क्रममा मारिएका चार सहिदको शालिक तोडफोड गरेकामा आपत्ति जनाए । त्यस क्रममा उनीहरुले प्रेस विज्ञप्ति पनि जारीगरे । विज्ञप्तिमा सहिदहरूको बलिदान, जनताको आकांक्षा र समाजवाद प्राप्त गर्ने लक्ष्यमा विभिन्न गोलचक्कर, विभाजन, स्वार्थ केन्द्रहरूको योजना र विभिन्न आवरणका दलालीको प्रभावमा परेको बताएका छन् ।
नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे आउँदैन साम्यवाद भाषण ठोकेर’ भन्ने सहिदहरूसँगै अभियानमा हिँडेकाहरु अहिले कम्युनिस्ट आन्दोलनका नाममा कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित पार्न उद्यत् रहेको आरोप उनीहरूले लगाएका छन् ।
विज्ञप्तिमा कम्युनिस्ट आन्दोलनका नाममा कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित पार्ने पश्चगामी कदमहरू, नयाँ अनुहारको नाममा नयाँ खोजिरहेको समाजलाई पुरानै मान्यता दिएर भ्रमित गर्ने प्रवृत्ति र जनताले अस्वीकृत गरिसकेको साथै इतिहास बनिसकेको राजतन्त्रलाई फर्काउन खोज्ने प्रवृत्ति नेपाली समाजलाई उल्टो बाटो हिंडाउने तथा देशलाई दुर्घटनामा लैजाने प्रवृत्ति भएको ठहर उनीहरुले गरेका छन् ।
‘यी प्रवृत्तिहरूलाई राम्रोसँग पहिचान गर्नु, जनतालाई बुझाउनु र समाजलाई सुल्टो बाटो हिडाउनुनै अहिलेको मुख्य कार्यभार हो र सुल्टो बाटो भनेको समाजवाद नै हो,’ विज्ञप्तिमा भनिएको छ ।उनीहरुले सुखानीमा उभिएर सहिदहरूलाई सम्झिँदै आफूहरू नेपाली समाजको अग्रगमनको यात्रालाई समाजवादसम्म पु¥याउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । जनताका महान आन्दोलन र बलिदानहरूलाई दुत्कार्ने, सहिदहरुको शालिक ढाल्ने, जस्ता कुरा गर्ने समाजमा अफवाह फैलाउने, जनविरोधी तत्त्वहरूलाई जनताको निरन्तर अगाडि बढ्ने चाहनाको विरुद्ध आउने जस्तोसुकै षड्यन्त्र र भ्रमहरू ध्वस्त बनाइने चेतावनी उनीहरूको छ ।
विज्ञप्तिमा माओवादी केन्द्रका झापा इन्चार्ज रञ्जित तामाङ, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बेदराज रेग्मी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका इन्चार्ज सुमन सिंहले हस्ताक्षर गरेका छन् ।२०२९ फागुन २१ गते आजैका दिन कम्युनिस्ट आन्दोलनका चार नेताहरू नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी (हाल माई नगरपालिका) स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो । उक्त दिनको स्मरणमा कम्युनिस्ट घटकहरुले सुखानी दिवस मनाउने गरेका छन् ।
यसैगरी तत्कालीन ‘झापा विद्रोह’ का पाँच सहिदको स्मृति दिवसमा नेकपा एमालेले पनि सभा आयोजना ग¥र्यो । ‘झापा विद्रोह’ का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२९ फागुन २१ गते झापा र इलामको सिमानास्थित सुखानीको जङ्गलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए ।
सुखानीका सहिदहरुको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन् ।झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरुको शालिक निर्माण गरिएका छन् । ती शालिकहरुमा पनि नेकपा एमालेलगायतका कम्युनिस्ट पार्टीहरुले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेका छन् ।
मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन राजवंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाको नेतृत्वमा एमालेले स्मृति सभा गरेको हो । प्रतिष्ठान परिसरमा सहिद वीरेन राजवंशीको शालिक स्थापना गरिएको छ ।कार्यक्रममा सहिद वीरेन राजवंशीका जेठा छोरा नेत्र राजवंशी, जेठी बुहारी विमला राजवंशी, सहिद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर काराबास भोगेका सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो ।
सरकारले सुखानीमा जीवनको आहुति दिएका झापा विद्रोहका पाँच योद्धालाई वि.सं. २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो ।