विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि भएको मतदानमा ८८८ मत खसेको छ ।
बिहान साढे ९ बजेबाट शुरू मतदान केहीबेर अगाडि मात्रै सकिएको हो । मतदानका लागि तोकिएको अवधिमा ८८८ मत खसेको मुख्य निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए ।
जिल्ला अधिवेशनमा ९११ जना मतदाता थिए । १६५ सदस्यीय नयाँ जिल्ला कमिटीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको भनिएको पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको भनिएको पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
अब मतगणना भोलि बिहीबार बिहानदेखि मात्रै गरिने निर्वाचन समितिले जनाएको छ । बिहान ८ बजेदेखि मतगणना गर्ने तयारी छ ।