विराटनगर । नेकपा (एमाले) मोरङको जारी १० औं जिल्ला अधिवेशनमा ७१ जना निर्विरोध निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला सदस्य पदका ७१ जना निर्विरोध निर्वाचित भएका हुन् ।
शनिबारदेखि जारी जिल्ला अधिवेशनले पाँच पदाधिकारीसहित १६५ सदस्य कार्यसमिति बनाउने छ । पदाधिकारी र बाँकी १९१ सदस्यका लागि अब निर्वाचन हुनेछ । निर्वाचन समितिका अनुसार जम्मा ३२५ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये ७१ निर्विरोध निर्वाचित भएका छन् भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पाँच पदाधिकारीसहित १९१ जना चुनावी मैदानमा गएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार बिहान ७ बजेदेखि मतदान गर्नेगरी निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान बुधबार बिहानका लागि सारिएको हो ।
यसअघि निर्वाचन समितिले सोमबार बिहान ९ बजेबाट मतदान शुरू गर्ने बताएको थियो । तर, सहमतिको प्रयासका नाममा मतदान सारिएको भन्दै प्रतिनिधिहरू भने रुष्ट बनेका छन् ।
प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले मतदानको समय बुधबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तय गरिएको बताए । १ पटकमा २० जनाले मतदान गर्नेगरी व्यवस्था मिलाइएको श्रेष्ठले बताए । उम्मेदवार धेरै भएका कारण १ जना मतदातालाई मतदान गर्न १५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ । मतदानपछि पार्टी कार्यालयमा मतगणना गरिने जनाइएको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतरपक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
दुवै पक्षले पदाधिकारीदेखि सदस्यसम्म नै प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९११ जना प्रतिनिधि छन् । सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन गराउन लागिएको हो ।