विराटनगर । नेकपा एमालेमा कुनैबेला देशभर नै माधवकुमार नेपाल समूह हावी थियो । नेपाल समूहको वर्चस्व रहेका बेला पनि मोरङ र काभ्रेपलाञ्चोक भने केपी शर्मा ओलीको पक्षमा देखिएको थियो । त्यतिबेला मोरङमा विनोद ढकाल र काभ्रेपलाञ्चोकमा गोकुल बाँस्कोटाले अोलीको काँध थापेका थिए । तर, अहिले दुवै नेता ओलीको साथमा नरहेको नेताहरू बताउँछन् ।
कालान्तरमा माधव नेपालहरू एमालेबाट अलग्गिए । त्यसपछि एमालेमा कुनै गुट नरहेको भनेर नेताहरुले चर्चा गरिरहेका छन् । ओलीले पार्टीका कार्यक्रमहरूमा पटक–पटक दोहोर्याइरहेका छन्, एमालेमा अब कुनै गुट छैन । कतिसम्म भने १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वमा आउने चाहना गरेका ओलीलाई चुनौती दिएका नेताहरूलाई कारबाहि नै गरियो । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीतिर लागे भने भीम रावल एमालेबाट निकालिए ।
एमालेले पार्टीका कमिटीहरूमा सर्वसम्मत नेतृत्व चयन गर्न भनिरहेको छ । केही जिल्लाहरूले त्यसलाई अनुशरण पनि गरेका छन् । तर, पछिल्लो समय भने नेताहरू प्यानलगत रूपमा प्रस्तुत भइरहेका छन् । मूल नेतृत्व अर्थात् ओलीमाथि नै चुनौती दिइरहेका छन् ।
खासगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय राजनीतिको उदय पर्खिरहेका बेला नेताहरू ओली र भण्डारी समूहमा विभाजित भइरहेका छन् । त्यसैको पछिल्लो उदाहरण हो, एमाले मोरङको जिल्ला अधिवेशन । जहाँ ओलीको इच्छाविपरीत प्यानलगत रूपमै उम्मेदवारी दर्ता मात्रै भएको छैन, कुनै बेला ओलीको भरोसा बनेर काँध थापेका नेताहरू समेत अलग प्यानल बनाउने अवस्थामा पुगेका छन् ।
रोचक संयोग त के छ भने सोमबार दिउँसो काठमाडौंमा ओली र विद्या एउटै कार्यक्रममा थिए, जहाँ विद्याले ओलीलाई कम्युनिस्ट एकतालाई बचाउन सुझाव दिँदै थिइन् । यता मोरङमा भने ओलीको समर्थन पाएका र भण्डारीको समर्थन पाएको भनिएका नेताहरू समूहगत प्रतिस्पर्धाको तयारीमा जुटिरहेका थिए ।
१६५ सदस्यीय जिल्ला कमिटीका लागि भोलि मंगलबार बिहान ९ बजेदेखि मतदान हुँदैछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ सहित पाँच जना पदाधिकारी निर्वाचनमार्फत् चुनिँदैछन् ।
ओली पक्षबाट राजकुमार ओझा र भण्डारीको समर्थन पाएको विनोद ढकालले नेतृत्व गरेको समूहबाट अजम्बर राईबीच अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ । ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका छन् ।
ढकाल समूहबाट अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । अध्यक्षका उम्मेदवार राई पार्टीको आन्तरिक चुनाव भएकाले पार्टीभित्रको प्रतिस्पर्धा भएको बताउँछन् । संस्थापन पक्षका सचिव पदका उम्मेदवार रविन थापाले आफ्नो समूह नै आधिकारिक भएको दाबी गरे । उनको दाबीको आधारमा पनि ओली समुह र इतर समूह बनेको स्पष्ट हुन्छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केन्द्रका नेता र जिल्लाका नेता राखेर बनाएको टिममा परिवर्तन गरिदिएका थिए । उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रतिनिधिसभाको लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरूले अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बु, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र रिता न्यौपानेको नाम टुङ्गाएका थिए । तर, ओलीले भने उपाध्यक्षमा शान्तिलाई नबनाउन निर्देशन दिए । उनी १० बुँदे पक्षकी हुन् ।
‘१० बुँदेलाई नबनाउन भनेर निर्देशन दिनुभयो’, संस्थापन पक्षकै एक नेता भन्छन्, ‘उहाँले विराटनगर महानगरपालिकाकी उपमेयरसमेत रहेकी शिल्पा निराला कार्कीलाई उपाध्यक्ष बनाउन निर्देशन दिनुभयो ।’ जिल्लामा खटिएका नेताहरूले भने शान्तिको प्रचार गरिसकेका थिए । उपाध्यक्ष गुरु बरालले शिल्पालाई सर्वसम्मत उपसचिवमा निर्वाचित गराउने भन्दै अध्यक्ष ओलीलाई कनभिन्स गराए । तर, बरालले आफ्नै गृह जिल्लामा पनि सर्वसम्मत गराउन सकेनन् ।
आइतबारसम्म कुनै पदमा उम्मेदवार नबन्ने बताइरहेकी शिल्पाले उपसचिवमा उम्मेदवारी दिएकी छन् । इतर समूहबाट जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झाले उनीसंग प्रतिस्पर्धा गर्ने भएकी छन् ।
झाले उम्मेदवारी फिर्ता नलिने बताइन् । शिल्पा यसअगाडि विराटनगर महानगर कमिटीकी उपाध्यक्ष थिइन् । उनी संस्थापनइतर समूहका नेता विनोद ढकाल पक्षकी थिइन । उनले जिल्ला अधिवेशनमा भने प्यानल परिवर्तन गरेकी छिन् ।
पहिला पनि आफू अहिलेकै प्यानलमा रहेको उनको दाबी छ । उनले अध्यक्ष ओलीले आफूलाई उपाध्यक्ष बनाउन भने पनि अरूलाई समेट्नु परेकाले उपसचिवमा चित बुझाएको बताइन् ।
अध्यक्षका उम्मेदवार राईको पक्षमा भने पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल, केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा र नैनकला ओझालगायत छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।