विराटनगर । नेकपा एमाले मोरङ जिल्लाको दसौँ अधिवेशनको बन्द सत्रमा नाराबाजी भएको छ ।
जिल्ला अधिवेशनका लागि मनोनित प्रतिनिधिको विषयमा विवाद भएपछि बन्द सत्र मै नारा जुलुस भएको हो । पार्टीको संस्थापन पक्षले एकलौटी रूपमा ४६ जना प्रतिनिधि मनोनीत गरेको भन्दै इतर समूहले बन्द सत्र हलमा नाराबाजी गरेको हो ।
उनीहरूले मनोनीत प्रतिनिधि खारेज गर्नुपर्ने माग राखेको छन् । एकलौटी रूपमा मनोनीत गरेको भन्दै इतर पक्षले नाराबाजी गरेपछि अधिवेशन कहिबेर प्रभावित बनेको थियो । यद्धपी निर्वाचन समितिले भने भोली नै निर्वाचन गर्ने गरी निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजे मतदाता नामावली प्रकाशन गर्ने र दिउसो १ बजे देखी ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताए ।
मनोनीत गरिएका ४६ जनाको विषयमा टुसो नलगाएसम्म निर्वाचनको प्रक्रिया अगाडी बढाउन नदिने इतर समूहको तयारी रहेको छ । ‘पर्यवेक्षकलाई पनि मतदान गर्ने जिल्ला कमिटीले निर्णय गरेको रहेछ इतर समूहका एक नेताले भने मनोमानी गरिएको निर्णय नसचिएसम्म अधिवेशनका अबका कुनै कार्यक्रम चल्दैनन् ।’
विवादका बिच सङ्गठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित भएको छ । विराटनगर महानगर कमिटीका पूर्व अध्यक्ष सागर थापालाई कारबाही गरेको विषयमा पनि विवाद भएको थियो ।संस्थापन र इतर समुह नै प्यानल सहित निर्वाचनमा खटेका छन् ।