विराटनगर । कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रवद्र्धन गर्ने समझदारी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाबीच भएको छ ।
समझदारी पत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गरेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।
अध्यक्ष राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको बताएका छन् । नेपालको कूल ग्राहस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान गरेर १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्योगको प्रवद्र्धन अपेक्षित रूपमा हुन नसकिरहेको उनको भनाइ छ । महासंघले यसअघि नै व्यावसायिक विकास सेवा सुरुवात गरेको राउतले बताए ।
समझदारीसँगै प्रदेशमा सञ्चालन भइरहेको व्यवासायिक विकास सेवाको प्रवर्धन क्षमता विकास, सञ्जाल विस्तार, समन्वय एवं साना तथा मझौला उद्योगको दिगो विकास, विस्तार र व्यावसायिक अनुकूल वातावरण निर्माणको लागि योगदान पुग्ने अपेक्षा रहेको महासंघले जनाएको छ । उदय परियोजनाका टिमलिडर राणाले समझदारी पत्रले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरी व्यवसाय विकास र परामर्शदाता परिचालन गर्न रूपरेखा प्रस्तुत गर्ने बताए ।
साना तथा मझौला उद्योग प्रवर्धनमा महासंघ कोशीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । समझदारी पत्रमा उल्लेख भएका उद्योग व्यवसायमा पुँजीको पहुँच, लगानी तथा नवप्रवर्तक प्रवद्र्धनलगायतका कार्यक्रम प्रदेशभित्रका सबै जिल्ला–नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यवसायिक संघ–संस्थाको सहकार्यमा अघि बढाइनेछ ।
कार्यक्रम डाई उदय परियोजना, स्विस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्त रुपमा वित्तपोषण गरी कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्रालय एंव डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको छ ।